धरान: नेपाली कांग्रेसका नेताहरुले कम्युनिष्ट शासनले देशलाई निकास दिन नसक्ने बताएका छन ।

धरान–१५ शिवालय चोकमा नेपाली कांग्रेसको चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनाबी सभामा बोल्दै कांग्रेस नेताहरुले यस्तो धारणा राखेका हुन् । चुनाबी सभामा नेपाली कांग्रेस इटहरीका सभापतिले हेमकर्ण पौडलले देशमा कम्युनिष्ट शासनले निकास दिन नसकेको बेला धरानमा पनि कम्युनिष्टले माखो मार्न नसक्ने बताए । धरान देशकै नमुना सहर बनाउन नेपाली कांग्रेसको जित आवश्यक रहेको उनले बताए । धरानको विकासको लागि कांग्रेसका उम्मेदवार तिलक राईलाई जिताउन उनले धरानबासीसँग आग्रह गरे । सभामा पुर्व नगरसभापति किशोर राईले २८ बर्ष कम्युनिष्टले शासन गर्दा धरानले कुनै उपलब्धी नपाएको बताए । उनले धराने जनताको सुखदुःखको सारथीकोरुपमा कांग्रेस बन्दै आएकोले अब धरानमा नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए ।

कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले नगरपालिमा कम्युनिष्ट सरकारले भष्ट्रचार, अनियमितताको गन्धले धरान प्रदुषित भएको आरोप लगाइन । उनले नेकपाको गम्भिर गल्तिले नै गर्दा धरानमा उपनिर्वाचन हुन लागेको बताइन् । दिर्घ रोगी रहेका स्वर्गीय मेयरलाई चुनावमा उमेद्वार बनाउनु तत्कालीन एमालेको गम्भिर भुल भएको र त्यसैले गर्दा अहिले राष्ट्रलाई आर्थिक भार पर्ने गरी उपनिर्वाचन गर्नुपर्ने अवस्था बनेको बताइन् । धरानमा मेयर नहुदा कार्यवहाक मेयर भएकी मञ्जु भण्डारी सुवेदी हाल जनताको काम गर्नुको सट्टा पार्टीको लागि भोट माग्न ब्यस्त रहेको पनि बताइन् ।