धरान: नेकपाबाट धरानको मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरहरूको सहयोगमा नै नेकपाको सरकार बनेको र नेकपाले मजदुरहरुलाई पनि नेतृत्वपंक्तिमा ल्याउने काम गरेको बताएका छन् ।

सोमबार धरानको भानुचोकमा आयोजित कोणसभामा बोल्दै उम्मेदवार राईले मजदुरहरू अब पेट र परीवारसँग मात्र नजोडिएर नेतृत्वमा पनि आउनुपर्ने बताए । नेकपाले मजदुरहरुलाई नेतृत्वमा ल्याउने काम शुरु गरिसकेको पनि उनले बताए । ’२०७४ सालको निर्वाचनबाट यातायात मजदुर सम्सेर बर्देवालाई धरान १० बाट वडासदस्यमा जिताएर यो कार्यको थालनी गरीसकेको छौं, नेपाली काँग्रेस लगायत अन्य दलले गफ मात्र दिदैछन्, के उनीहरुले मजदुरलाई नेतृत्वमा ल्याएको उदाहरण छ ?’ उनले भने ।

उम्मेदवार राईले मजदुरहरुको साथ विना धरानको विकास, निर्माण सम्भव नभएको पनि बताए । सरकारले भ्रमण वर्ष २०२० को अवधारणा ल्याएको र पर्यटकहरूले कुनै पनि सहरमा पहिला यातायात मजदुरलाई भेट्ने भएकोले यातायात मजदुरहरु पर्यटन दुतकोरुपमा रहने पनि उनले बताए । मजदुरहरूको सेवाले कुनै पनि शहर कति विकसित छ भन्ने उदाहरण प्रस्तुत गर्ने बताउदै उम्मेदवार राईले आफु निवार्चित भएपछि प्राथमिकतामा मजदुरहरूको विकासको कार्य अघि बढाउने बताए ।

यस्तै, उम्मेदवार राईले साना यातायातको हकमा दिर्घकालिन व्यवस्थापन गर्नका लागी ठोस योजना अघि बढाउने समेत बताए । धरानमा ठुला यातायात भित्राएर सानो सवारीलाई विस्थापित गर्ने हल्ला कांग्रेसको चुनावी भ्रम मात्र भएको उनले प्रष्ट्याए । उनले धरान ८ मा बसपार्क निर्माणको लागी कार्य थालनी भइसकेको बताउँदै भानुचोकमा सानो सवारीका लागी हुने गरेको पार्किङको समस्या चाँडै समाधान हुने समेत बताए ।