धरान: चुनाव प्रचार गर्न धरान ३ स्थित जामे मस्जिदमा पुगेको नेपाली कांग्रेसको टोलीले नमाज(प्रार्थना) विथोलेको भन्दै मुस्लिम समुदायको साझा संस्था अन्जुमन इस्लामियाले खेद व्यक्त गरेको छ ।

पुर्वगृहमन्त्री कृष्ण सिटौलासहित भोट माग्न पुगेका कांग्रेसका नेता, कार्यकर्ताहरुले माइकिङ गर्दै नाराबाजी गरेपछि नमाज विथोलिएको इस्लामियाको भनाई छ । घटना पछि इस्लामियाले विज्ञप्ती जारी गर्दै मस्जिदको गेटमा चुनाव प्रचारको नाममा नाराबाजी र माइकिङको माध्यमबाट नमाज(ध्यान)मा अवरोध पुगेको तथा धार्मिकस्थलको धार्मिक अनुष्ठानमा खलल पुगेको उल्लेख छ । इस्लमियाले आउदा दिनहरुमा यस्तो क्रियाकलाप नगर्न पनि सम्पुर्ण दलहरुलाई अनुरोध पनि गरेको छ ।

जामे मस्जिदमा हरेक शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म नमाज(धार्मिक प्रार्थना) हुने गर्छ । शान्त वातावरणमा नमाज हुनुपर्ने हुन्छ । शुक्रबार नमाज सकिन लाग्दा दिउँसो करिब १ बजेर २५ मिनेटमा भोट माग्दै पुगेका कांग्रेसका नेता, कार्यकर्ताहरुले माइकिङ र नाराबाजी गर्दा नमाजमा असर पुगेको मुस्लिम समुदायको भनाई छ ।

शुक्रबार कांग्रेसको प्रचार टोली पुग्नु अघि मस्जिदमा नेकपाका उम्मेदवार प्रकाश राईसहित प्रचार टोली पुगेको थियो । इस्लमियाका अनुसार नेकपाले आफ्नो उम्मेदवार परिचय गराउन अल नेपाल मुस्लिम संगठनले पुर्व जानकारी गराएर गएको थियो । इस्लामियाले पनि नमाजको वातावरणलाई असर नपर्ने गरी उम्मेदवार परिचय गराउने अनुमति दिएको थियो । सोही अनुसार झण्डै ५० मिटर दुरीमा नेकपाले उम्मेदवार परिचय गराउदै गर्दा कांग्रेस प्रचार टोली पनि पुगेपछि तनाव सृर्जना भएको थियो ।