धरान : देश संघिय संरचनामा गएपछि जनप्रतिनिधी निर्वाचित भएर आएको दुई वर्ष पुग्नै लागेको छ । यस बीचमा जनप्रतिनिधी आएपछि वडा तहसम्म जनताको काम सजिलो भएको छ भने विकासका पूर्वाधार निर्माण कार्यले पनि बिस्तारै गति लिदै गएको छ ।

धरान १३ नं वडाका वडाध्यक्षमा नेपाल कम्युनिस्ट पाटी(नेकपा) को तर्फबाट निर्वाचित नेत्रप्रसाद काफ्लेले निकटम प्रतिष्पर्धीलाई दोब्बर मतले पराजित गरे । जनतामाँझ लोकप्रिय भएकै कारण वडाध्यक्षको चुनावमा काफ्लेलाई अत्याधिक मत आएको भनिन्छ । आफु वडाध्यक्षमा जितेर जनताको काम गर्न भनी आउनुभन्दा अघिदेखि नै समाजसेवामा सक्रिय रहेको वडाध्यक्ष काफ्लेले बताए । उनले भने –‘म पहिला पनि समाजसेवामा नै थिए र अहिले पनि जनताकै काममा छु, तर अहिले आफुमाथि जिम्मेवारी थपिएको भने पक्कै हो ।’ उनी साविक धरानका १९ वटा मध्ये १३ नं. वडा सबैभन्दा विकट भएको दाबी गर्छन् । १३ नं वडामा अलि बढी पहाडी क्षेत्र भएकोले पनि बिकट हुन पुगेको उनी बताउँछन् । तर अहिले छिमेकी गाविसहरु गाभिएर उपमहानगर भएपछि ती गाविस भन्दा पक्कै विकसित नै भएको पनि उनी सुनाउँछन् । त्यसो त वडामा दर्जनौ सरकारी कार्यालयहरु छन् । इलाका प्रशासन कार्यालय, संघिय इकाई प्रहरी कार्यालय लगायत सुरक्षा निकायका कार्यालयहरु छन् । भारतीय पेन्सन पेइङ कार्यालय समेत १३ नं वडामा नै छ । धरानकै पुरानो बजार र व्यापारिक केन्द्र फुस्रे बजार १३ नं. वडामा नै पर्छ । जहाँ धरानको बजार विस्तार नहुँदा पहाडदेखि चौरीले बोकेर घिउ र अन्न ल्याउँथे भने पूर्वी पहाडको मुख्य बजार फुस्रेबाट नुन तेल बोकेर लैजाने गर्थे ।

जनगुनासो सुन्न र सुझाव लिन शनिबार कार्यालय खुल्ला

धरानको १३ नं. वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले अरु बेला विभिन्न कामको चाप हुने भन्दै प्रत्येक शनिबार विहान ७ बजेदखि ९ बजेसम्म जनताको गुनासो सुन्न र सुझावहरु लिन २ घण्टा कार्यालय खोल्ने गरेका छन् । उनी शनिबार बिहान वडा कार्यालय आएर जनताको गुनासो सुन्ने र त्यसको हल गर्ने गर्दछन् ।
अझ स्मरणीय त के छ भने अहिलेसम्म वडामा आएका मुद्दाहरु उनले न त प्रहरीकोमा न त अदालत न त उपमहानगरपालिकाको कार्यालय नै पठाउँछन् । उनी मेलमिलापको नीति अन्तर्गत वडामा परेका उजुरीहरु वडा मै हल गरेको बताउँछन् । वडाध्यक्ष काफ्ले भन्छन् –‘अहिलेसम्म ४७ वटा मुद्दा परेकोमा सबै मुद्दा यहीबाट मिलाएर पठाएको छु ।’

सामाजिक कार्यमा अघि

विकास निर्माणको हिसाबले पछि परेपनि सामाजिक कार्यको हिसाबमा १३ नं. वडा धरानकै अग्रणी वडा भएको दाबी गर्छन् वडाध्यक्ष नेत्रप्रसाद काफ्ले । उनी भन्छन् –‘सुनसरीकै पहिलो बालमैत्री वडाको रुपमा हाम्रै वडा घोषणा भएको हो ।’ त्यति मात्र होइन उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८, ९ र १० का विद्यार्थीलाई निःशुल्क ६ महिनासम्म ट्युसन कक्षा सञ्चालन गरे । जेष्ठ नागरिकहरुलाई सम्मान गर्नका निम्ति विभिन्न चोकमा विश्रामालय र चौतारी निर्माण गरेका छन् । बेला बेलामा कार्यक्रम आयोजना गरेर बालबालिका र जेष्ठ नागरिकलाई सम्मान गर्ने गरेका छन् । उनले भने आउँदो वर्ष वडाका ४० देखि ५० जनालाई तिर्थ घुमाउन लैजाने योजना बनाएका छौ ।

कृषि बजार व्यवस्थित बनाउँदै

धरान मात्र नभइ पूर्वी पहाडी जिल्ला र पूर्वी तराईका जिल्लाका तरकारीहरुको किनबेच हुने मुख्य स्थलको रुपमा रहेको धरान कृषि बजारलाई व्यवस्थित गर्न समन्वयकारी भूमिका खेलिरहेको उनी बताउँछन् । उनले वडाको पहलमा कृषि बजार भित्र दैनिक २ हजार जनालाई खान पुग्ने गरी पानीको फिल्टर जडान गरेको, पशु चौपायको खरिद बिक्री गर्न आधुनिक काटा राखेको बताए । त्यस्तै अहिले कोल्ड स्टोर र विषादीको मात्रा परिक्षण गर्ने ल्याब धमाधम निर्माण भइरहेको समेत उनले बताए ।

पर्यटनमा वडाको नजर

अहिले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अघि बढिरहेको अवस्थामा १३ नं. वडालाई पनि समृद्ध बनाउन लागी परेका छन् वडाध्यक्ष काफ्ले । उनले वडाबासीहरु नुहाउन जाने सर्दु खोलालाई आकर्षक र पर्यटकीय क्षेत्र बनाउनका लागी ठूला ठूला ढुंगामा आकर्षक मूर्ति कुद्ने काम भइरहेको बताए । उनले सर्दु जलाधार क्षेत्रमा जैविक विविधता पार्क बनाउने, ओशो आश्रम नजिक नेचुरल पार्क बनाउने योजना रहेको बताए । उनले ओशो आश्रम छेउमा रहेको सर्दु खोलाको पूललाई फ्लावर ब्रीज निर्माण कार्य थालनी भएको बताए ।

फुस्रे बजारलाई पुनः जीवित गराउने

कुनै जमानामा धरान भनेको नै फुस्रे बजार भएको र जब मदन भण्डारी मार्ग सञ्चालनमा आयो त्यसपछि विस्तारै फुस्रे बजार ओझेलमा पर्दै गयो । फुस्रे बजार २०३४ साल अघि पूर्वी पहाड र पूर्वी मधेशको मुख्य बजारको रुपमा रहेको थियो । पहाडको सामान मधेश लैजाने र मधेशको सामान पहाड लैजाने मुख्य नाकाको रुपमा रहेको थियो । तर अहिले फुस्रे बजार मृत भएको भन्दै त्यसको ऐतिहासिकता झल्कने गरीको मोडल बनाएर बजार विकास गर्ने लक्ष्य वडाको रहेको वडाध्यक्षले बताएका छन् ।

वडाबासी खुसी छन्ः

उनले आफु जनप्रतिनिधीको रुपमा वडाको नेतृत्व गरेपछि अहिलेसम्म गरेका कामलाई लिएर वडाबासी खुसी रहेको उनले बताए । उनले १३ नं वडाको मुख्य चोक जिरो प्वाइन्टमा सिसि क्यामेरा जडान, ट्राफिक घर निर्माण, मुख्य गरी सूर्य मार्गमा जिरो प्वाइन्ट पश्चिम आरसिसि रोड, सूर्य मार्गमा पुल लगाउने काम सम्पन्न भइसकेको बताए । उनले वार्षिक कार्यक्रममा विपन्न सुत्केरीलाई खाद्यान्न लगायतका सामाग्री वितरण, बेवारिसे अवस्थामा रहेकाहरुलाई उपचार गर्न कोष खडा गरेको लगायतका कामबाट वडाबासी खुसी रहेका छन् ।