धरान: यही मंसिर १४ गते उपनिर्बाचनमा संघीय लोकतान्त्रिक खुम्बुवानले नेपाली कांग्रेसका उम्मेदवार तिलक राईलाई सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस र खम्वुबानबीच उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने तथा चुनाव प्रचारप्रसारमा सहकार्य गर्ने सहमति भएको हो । खम्बुवानले स्वतन्त्र उम्मेदवारको रुपमा एलिसा राईलाई उठाएको थियो । अब खम्बुवानले आफ्नो उम्मेदवारलाई छोडेर कांग्रेस उम्मेदवार राईलाई भोट माग्नेछन् । दुई पार्टीबीच आइतवार भएको विविधतामा एकता, स्वशासन र साझा शासनको पद्दति, समृद्ध अनि सम्पन शहर हाम्रो संकल्प भन्ने नारामा सहमति भएको हो ।

दुवै पार्टीको सिद्धान्त अलग भए पनि धरानको बिकास र समृद्धिमा तिलक राईको नेतृत्व आवश्यक भएकोले कार्यगत एकता गरिएको खम्बुवानका केन्द्रीय महासचिब राजकुमार खम्बुले बताए । उनले भने,'हाल नेकपाको नेतृत्वमा धरानमा बेतिथि, बिकृति, भष्ट्राचार मौलाएको छ, त्यसविरुद्ध कांग्रेससँग सहकार्य गर्ने निर्णयमा पुगेका हौ ।' धरानमा नेकपाको हालीमुहाली भएकोले त्यसविरुद्ध जनताले परिवर्तन चाहेअनुसार खम्बुवानले पनि कांग्रेसलाई सहयोग गरेको जनाएको छ ।

कांग्रेसकय पुर्ब नगर सभापति किशोर राईले दुई पार्टीबीच भएको कार्यगत एकता एतिहासिक भएको बताए । 'धरानबासी नेकपाको असक्षमता देखेर निराश छन्, अब धरानको विकास र समृद्धिको लागि वैकल्पिक शक्तिकोरुपमा नेपाली कांग्रेस आउदैछ । यो कार्यगत एकताले धराने जनतालाई समृद्धिको बाटो उन्मुख लैजान्छ,'उनले भने ।खम्बुवानका केन्द्रीय उपाध्यक्ष राहुल राईले तिलक राई बिकासप्रेमी नेता भएकोले सहकार्य गरिएको बताए । सिद्धान्त नमिले पनि विकास र समृद्धिको एजेण्डा मिलेपछि कार्यगत एकता भएको उनको भनाई थियो ।

कार्यगत एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेस धरानका कार्यवाहक सभापति महेन्द्र तामाङ्ग, नेपाली कांग्रेसका सुनसरी सचिव सुजेन्द्र गोले तामाङ्ग, सदस्य पञ्चकला राई, प्रेस युनियन धरानका नगर सचिव मात्रिका प्रसाद नेपाल, खम्बुवानका नेताहरु राहुल राई, मेयरको उम्मेदवार एलिसा राईलगायत उपस्थित थिए ।