धरान: चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाइरहेको नेकपाले धरान १७ स्थित पटनालीमा सोमबार कोणसभा आयोजना गरेको छ ।

१७ नम्बर वडा समिति निर्वाचन परिचालन समितिले आयोजना गरेको सभामा वक्ता नेताहरुले कांग्रेसले झुटो आश्वासन दिएर भोट साट्ने खोजीरहेको आरोप लगाएका छन् । कांग्रेस पराजित हुने भएपछि झुटा आश्वासन बाडिरहेको नेकपा प्रदेश कमिटि सदस्य अइन्द्र बिक्रम बेघाले आरोप लगाए । नेता बेघाले कांग्रेसले ठूलो धनराशी खर्च गरेर धरान बाहिरका जनता सडकमा उतारेको पनि आरोप लगाए । धराने जनता सचेत भएकोले धरानमा नेकपाको जित सुनिश्चित रहेको दाबी गरे ।

प्रदेश सदस्य डिवी शाह शंकरले नेकपा कांग्रेस धराने जनताबाट अस्वीकृत भईसकेकोले यो उपनिर्वाचनमा जित्छु भन्दै भ्रम सृजना गर्नु उसैको लागि घातक हुने बताए । उनले दलित, सुकुम्बासी, आदिवासी जनजाति, महिला, अल्पसंख्यक जातजाति र समुदायको पक्षमा नेकपाले स्पष्ट रुपमा योजनाबद्ध कार्य गरिरहेको पनि प्रष्ट्याए । धरान नगर कमिटि सदस्य राजमणी निरौलाले धरानका साना तथा ठूला योजना पुरा गर्न र सुखी धराने, समृद्ध धरान निर्माण गर्न अभियानको मुख्य नेतृत्वकर्ता नेकपामात्र भएको वताए ।

वडा नं १७ निर्वाचन परिचालन समितिका सहइन्चार्ज तथा धरान १७ नम्बर वडा समितिका वडा अध्यक्ष मनोज भट्टराईले चुनावमा खर्च गर्ने र अरुबेला कहिल्यै गाउँघरमा देखा नपर्ने पार्टीलाई भोट हालेर पछि पछुतो हुने काम नगर्न स्थानीयबासीलाई आग्रह गरे । उनले वडामा ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता हुने गरेको बताउदै विपक्षिले १ हजार कर लिन्छ भनेर झुटो प्रचार गरिरहेकोले त्यसको पछि नलाग्न आग्रह गरे । उनले सर्दु खोलामा दुई वटा पुल नेकपा नेतृत्वको सरकारले बनाएको पनि बताए ।