धरान: मंसिर १४ को उपनिर्वाचन बहिष्कार गरेको देशभक्त गणतान्त्रिक मोर्चा नामको पार्टीका ९ जना कार्यकर्ताहरु धरानबाट पक्राउ परेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानले आइतबार साँझ धरान १ स्थित छाताचोकबाट पक्राउ गरेको हो । छाता चोकस्थित पुरानो अस्पताल अघि'संसदिय उप चुनावको बहिष्कार गरौ, संघिय जणगणतन्त्रको दिशामा अघि बढौ' भन्ने नाराको पर्चा बोकेर चुनाव बिरोधी कार्यक्रम गर्न लागेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्झाई बुझाई गर्दा अभद्र ब्यबहार गरेकोले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता, कार्यकर्ताहरु हुन् । उनीहरुको साथबाट पर्चाहरु थान १५, साउण्डबक्स थान १ र सोको वायरलेस माईक थान १ वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मोर्चाको केन्द्रीय सदस्य तथा प्रादेशिक सदस्यहरु टिकारांम राई, तारक लिम्बु र मोहन लिम्बु रहेका छन् । यस्तै, साधारण सदस्य पारश लिम्बु, प्रादेशिक सदस्य पदम तामाङ, गौरव राई, जय आचार्य, राम बहादुर पौडेल र साधारण सदस्य सन्तोष ठाकुर रहेको प्रहरीले जनाएको छ ।