धरान: नेकपा स्थायी कमिटि सदस्य तथा १ नं प्रदेश ईन्चार्ज भीम आचार्यले नेपाली कांग्रेस भिजन विनाको पार्टी भएको बताएका छन् ।

अल नेपाल मुस्लिम संगठनले सोमबार धरानमा आयोजना गरेको मुस्लिम सभामा बोल्दै नेता आयार्चले कांग्रेसमाथि यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसको दुई तिहाईको सरकार हुँदा पनि कुनै क्षेत्रको कार्यक्रमहरु ल्याउन नसकेको आरोप लगाए । नेकपाको वर्तमान सरकारले देशलाई समृद्धितर्फ लगिरहेको दाबी गर्दै नेता आचार्यले कांग्रेस नेतृत्वको सरकारको पालामा देशको सबै उधोगधन्दाहरु ध्वस्त बनाएको पनि बताए । नेता आचार्यले दश वर्षे शासन गर्दा कांग्रेसले उल्लेखनीय काम गर्न नसकेको बताए । साथै, नेता आचार्यले जातिवादी पार्टीहरु धेरै दिन नटिक्ने पनि बताए ।

नेकपाका केन्द्रिय सदस्य मेफुज आलमले नेपाली कांग्रेसको सरकार हुदा मुस्लिम समुदायको विशेष पर्व ईद बक्रईदमा सार्वजनिक विदाको आग्रह गर्दा बकमफुस्रे कुरा गरेर टालेको बताए । उनले कुनै पनि समुदायको धर्म र सस्कार सस्कृतिको सम्मान नगर्ने पार्टीलाई सबैले बहिष्कार गर्न पनि आग्रह गरे । नेकपाको जित नभए धरानको समृद्धी असम्भव रहने नेता आलमको भनाई थियो ।

नेकपा जिल्ला सदस्य भिम ज्वला राइले धरानको विकास र समृद्धीसँगै सबै जातिको सम्मान र सुरक्षाको लागि नेकपाको नेतृत्व जरुरी रहेको बताए । कांग्रेस पार्टी एकात्मकवादी र एकल धर्मवादीको नारालाई बोकेर हिडेको भन्दै उनले कांग्रेसले कुनै समुदायको धर्म र सँस्कृतिलाई सम्मान र सुरक्षा दिन नसक्ने बताए ।
सभालाई सम्बोधन गर्दे नेकपाका उम्मेद्धवार प्रकाश राईले धरानका मुस्लिम समुदायको मुद्दा र समस्या माथि आफु जहिल्यै प्रतिबद्ध रहने पनि बताए । साथै, उनले मुस्लिम समुदायको मदरसा पठनपाठनको व्यवस्थाको लागि पनि नेकपाले पहल गरिरहेको उनले बताए ।