काठमाण्डौं : सरकारले १९ वटा पहाडी जिल्लाका सिडिओमा सहसचिवलाई खटाउने निर्णय गरेको छ । ३ मंसिरको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई खटाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । धेरै जनसंख्या भएका जिल्लामा सुरक्षा चुनौतीका आधारमा सहसचिवलाई सिडिओका रूपमा खटाउन लागिएको हो । हाल ती जिल्लामा उपसचिव सिडिओमा कार्यरत छन् ।

पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाघाँची, प्युठान, सल्यान, जुम्ला, डोल्पा, बैतडी, दैलेख, अछाम र डडेल्धुरामा सहसचिवलाई सिडिओ खटाउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

हाल ४२ वटा जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । दरबन्दी थपिएको पत्र मन्त्रालय आइनसकेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । पत्र आएलगत्तै ती जिल्लामा कामु दिएर भए पनि सहसचिव खटाउने उनको भनाइ छ ।

१० महिनाअघि नै गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव अघि बढाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत यसमा सहमति जनाई प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । ती जिल्लामा डिएसपी खटिएकोमा एसपीसमेत खटाउने गृहको तयारी छ । त्यसबारे छलफल हुनै बाँकी रहेको सहसचिव शर्माले बताए ।

हाल दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्लामा एसपीलाई खटाउन लागिएको छ । सहसचिव सिडिओ भएका सबै जिल्लामा एसएसपी र एसपी जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । नयाँपत्रिका दैनिकबाट