धरान: धरानको मेयर पदको उपनिर्वाचनमा अपेक्षा गरिएभन्दा न्युन मत ल्याएको समाजवादी पार्टीले आफुले अघि सारेको मुद्दाले नेपाली कांग्रेसलाई फाइदा पुगेको जनाएको छ ।

उपनिर्वाचनमा उम्मेदवारी दिएपनि नेकपालाई हराउन कांग्रेससँग भित्री तालमेल गरेको टिप्पणी भइरहदा समाजवादी पार्टीले यस्तो धारणा सार्वजनिक गरेको हो । उक्त पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्वो, निर्वाचन परिचालन समिति संयोजक शुभचन्द राई र नगर अध्यक्ष ताजुब लिम्बुले संयुक्त विज्ञप्ती जारी गर्दै भनेका छन्,‘हामीले नै अगाडि सारेको मुद्दा धरानको विकासकोलागि राजनीतिक परिवर्तन आवश्यकले मतदातालाई आकर्षित गर्दै नेपाली कांग्रेसलाई लाभ पुगेको हामीले ठहर गरेका छौं ।’

समाजवादी पार्टीले पटक पटक चुनाव चिह्न फेरिदा र सांगठनिक कमजोरीले मतदातासमक्ष चुनाव चिह्न परिचित गर्न नसक्दा मत संख्या न्युन आएको पनि स्वीकार गरेको छ । तर, वैचारिकरुपमा पार्टी वलियो भएको उनीहरुले दाबी गरेका छन् । यो निर्वाचनबाट पाठ सिकेर संगठन निर्माणमा जुट्ने र सैद्धान्तिक एवम् वैचारिक रुपमा उन्नत‘कार्यकर्ता र संगठन निर्माणलाई पहिलो प्राथमिकता’दिने प्रतिवद्धता पनि विज्ञप्तीमा जनाइएको छ ।

तेस्रो शक्तिकोरुपमा रहने अनुमान विपरीत निर्वाचनमा समाजवादी पार्टीले मात्र ७ सय ५५ मत ल्याएको थियो । कमजोर संगठन भएको संघीय लिम्बुवान मञ्चले १ हजार १ सय ३१ मत ल्याएर तेस्रो शक्तिकोरुपमा आफुलाई स्थापित गर्यो ।