धरान: धरानका नवनिवार्चित मेयर तिलक राईले आफुले स्वर्गीय मेयर तारा सुब्बाको उत्तराधिकारीकोरुपमा काम गर्ने बताएका छन् ।

उनले बुधबार पदभार ग्रहण गर्नुअघि धरान १९ हरियाली सामुदायिक वन परिसरमा रहेको स्वर्गीय मेयर सुब्बाको सालिकमा माल्यार्पण गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफु स्वर्गीय मेयरको उत्तराधिकारीकोरुपमा रहेर नगरबासीको हितमा काम गर्ने बताए । उनले भने,'म स्वर्गीय मेयर तारा सुब्बाको उत्तराधिकारीकोरुपमा रहेर नगरबासीको हितमा सबैसँग मिलेर काम गर्छु ।'

tilak7

मेयर राईले स्वर्गीय मेयरको योगदानको कदर गर्दै परिवारजनको माग अनुसार तारा सुब्बा स्मृति पार्कलाई मुर्तरुप दिने पनि बताए । माल्यार्पण कार्यक्रममा स्वर्गीय मेयर सुब्बाकी पत्नी इन्दु राई सुब्बाको पनि उपस्थिति रहेको थियो । स्वर्गीय मेयर सुब्बाको परिवारले स्मृति प्रतिष्ठान र पार्क स्थापनाको माग गर्दै आएका छन् । २०७४ सालको स्थानीयतह निर्वाचनमा मेयरमा निवार्चित सुब्बाको बर्ष दिनपछि निधन भएको थियो । मंसिर १४ गतेको उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई हराउदै कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई मेयरमा विजयी भएका थिए । उनले आजै बुधबार पदभार ग्रहण गरिसकेका छन् ।