खोटाङ: गए मध्यराती खोटाङ जिल्लाको रावावेशी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेर पुर्णरुपमा क्षति पुर्याएको छ ।

अज्ञात समुहले पार्किङ गरेर राखिएको गाउँपालिकाको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी गरेको हो । प्रहरीका अनुसार गाउँपालिका–५ दुबेकोलस्थित गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको घरमा राखिएको गाडीमा आगजनी भएको हो । करिब ३८ लाखमा खरीद गरिएको यो गाडी गाउँपालिका अध्यक्ष निरौलाले प्रयोग गर्दै आएका थिए।

प्रहरीका अनुसार सोमबार राति करिब १ बजे यो घटना भएको हो । घटनाबारे जानकारी पाउनासाथ कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट प्रहरी टोली राती नै घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए । उनका अनुसार घट्नास्थल पुगेर प्रहरी टोलीले अनुसन्धान सुरु गरिसकेको छ । मंसिर १५ मा पनि दोर्पाको लप्सेखोला पंखुखोलामा र चखेवाभन्ज्याङमा गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटर अज्ञात समूहले जलाइदिएको थियो । तस्बिर स्रोत: नागरिकन्युज