काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ ।

पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन् । दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पुर्याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन् । हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेले पनि सो पदमा दाबी गरेकी छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटर आफू सो पदमा योग्य भएको जनाइसकेकी छन्। पार्टीका विभिन्न नेतासँग पनि उनले छलफल गरेकी छन् । तर पार्टीका दुवै अध्यक्ष उनलाई सभामुख बनाउन तयार नभएको स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङ्फेले पार्टीका कार्यकारी अध्यक्ष दाहालसँग समय मागे पनि उनले समय दिएका छैनन् । -नागरिक दैनिकबाट