धरान: समाचार संकलन गर्न ढिलो आएको भन्दै आक्रमणबाट घाइते भएका पत्रकार सन्तोष काफ्लेले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

घाइते पत्रकार काफ्लेले आज बिहान इलाका प्रहरी कार्यालय धरानमा पुगेर किटानी जाहेरी दिएका हुन् । घाइते पत्रकार काफ्लेले ६ जनाविरुद्ध दिएको किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार ६ जना मध्ये ४ जना हिजो घटनालगत्तै पक्राउ परेका छन् । अन्य २ जनाको नाम जाहेरीमा थप भएकोले उनीहरुलाई अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गर्ने डिएसपी न्यौपानले जानकारी दिए ।

सल्लेरी वचत तथा ऋण सहकारी संस्थाबाट पीडित वचतकर्ताहरुले बिहिबार दिउँसो समाचार संकलन गर्न ढिला गरेको भन्दै आक्रमण गरेका थिए । उनको नाक भाँच्चिएको छ भने देब्रे आँखामा गम्भीर चोट लागेको छ । उनको आँखाको अप्रेशन गर्न आज विराटनगर लगिएको छ । आँखामा आँसु आउने नशा छिनेको चिकित्सकहरुको भनाई छ ।

salleri-pidit-

प्रहरीले घटनालगत्तै पत्रकार काफ्लेलाई आक्रमण गर्ने मुख्य आरोपी धरान १ का नरेश साहसँगै संघर्ष समितिका अध्यक्ष धरान १५ का तुलसीप्रसाद बिक, धरान ४ का दिपक राई र धरान ४ कै संगीता राईलाई नियन्त्रणमा लिएको थियो । आज मुद्दा दर्ता भएकोले उनीहरुलाई अनुसन्धानको लागि म्याद थप गर्न अदालत लगिएको डिएसपी न्यौपानेले बताए ।

पत्रकार काफ्ले न्युज२४ टेलिभिजनमा कार्यरत छन् । सल्लेरी सहकारीका अध्यक्ष कृष्ण बिकले सहकारीका वचतकर्ताहरुको ८ करोड बढी रकम हिनामिना गरेका थिए । यो प्रकरणमा अध्यक्ष बिक पुर्पक्षकोलागि जेलमा छन् भने अन्य सञ्चालक समितिका सदस्यहरु धरौटी बुझाएर छुटेका छन् । यो प्रकरणमा पुर्ववाणिज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य मीन विश्वकर्मा पनि मुछिएका छन् । हिनामिना प्रकरण सार्वजनिक भएपछि सांसद विश्वकर्माले सहकारीका अध्यक्षको श्रीमतिको घरजग्गा आफ्नो श्रीमतिको नाममा नामसारी गरेका थिए । पीडित वचतकर्ताहरुले सांसद विश्वकर्माको पनि मिलेमतो भएको भन्दै उनलाई पनि कारबाही गर्न माग गर्दै आएका छन् ।