पाकिस्तान : पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। बीसीसी उर्दूका अनुसार पेशावर उच्च अदातलका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको  छ। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो। पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ। सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए। डन पत्रिका लेख्छ  "उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।"

मुद्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्चदेखि यूएईको दुबईमा रहेको डनले लेखेको छ। द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको हो। द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए।

सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए। यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने द एक्सप्रेस ट्रिब्यूनले बताएको छ।

बिबिसि नेपाली सेवा बाट