काठमाडौं: सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच माघ ९ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा तालमेल हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा नेकपा र राजपाबीच माघ ९ गते प्रदेश २ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने सहमति भएको राजपाका महासचिव केशव झाले जानकारी दिए। सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ मा रिक्त रहेका ४ स्थानमध्ये अन्य पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई सहयोग गर्नेछ।

यस्तै, राजपाले महिला र दलित पुरूष समूहका दुई स्थानमा नेकपालाई सहयोग गर्ने सहमति भएको महासचिव झाले बताए। यस्तै, बैठकमा दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति पनि भएको छ। दुई बुँदे सहमति पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

sahamati