दमक: धरानबाट सरुवा भइ झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा गएका गणेशप्रसाद तिम्सिनाले कार्यपालिका बैठकबाट गैरकानुनीरुपमा आफ्नो तलब बढाएर लिइरहेको पाइएको छ ।

पहिलो श्रेणीका अधिकृतस्तरका नवौं तहका उपसचिव तिम्सिनाले कार्यपालिकाबाट निर्णय गराएर आफुभन्दा सिनियर दशौं तहका उपसचिव दिनेश न्यौपाने बराबर नै तलब लिइरहेका छन् । नगरका मेयर नभएको बेला गत असोज ४ गते भएको ४८ औं कार्यपालिका बैठकबाट निर्णय गराएर नगरको स्रोतबाट तलब थप गरेर उनले लिइरहेको पाइएकोछ । उनी निजामति सेवाका कर्मचारी हुन् । निजामति सेवा ऐन बिपरीत कार्यपालिका बैठकबाट तलब बढाएर लिन मिल्दैन । भत्ताकोरुपमा कामको अवस्था हेरेर निर्णय गरि लिन भने पाइन्छ । तर, तिम्सिनाले भने मासिक तलब नै वृद्धि गरेर लिइरहेका छन् ।

अधिकृत तिम्सिनाले उपमेयरलाई प्रभावमा पारेर यो निर्णय गराएको बताइएको छ । उनी भन्दा पनि सिनियर अधिकृत दिनेश न्यौपाने शिक्षा शाखा प्रमुख छन् । उनको तलब मासिक ४७ हजार ३ सय ८० आउछ भने तिम्सिनाको ४० हजार ३ सय ३० रुपैया आउछ । तर, तिम्सिनाले कार्यपालिकाबाट निर्णय गराएर बाँकी ७ हजार ५० रुपैया नगरको स्रोतबाट थप गरेर न्यौपाने बराबार नै तलब बुझ्दै आएका छन् ।

उनले गएको साउनदेखि वृद्धि भएको तलब लिइरहेको नगरपालिका स्रोतले जनाएको छ । उक्त कार्यपालिका बैठकको निर्णय नं ३ मा भनिएको छ,‘दमक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी अधिकृतस्तरको १० औं तहको भएको र हाल नेपाल सरकारले राजपत्रांकित द्धितिय श्रेणीको उपसचिवलाई खटाउने प्रावधान रहेको हुँदा नेपाल सरकारबाट खटाइएको कर्मचारीलाई सो पदमा कार्यरत रहदासम्म २०७६ साउन १ गतेदेखि लागु हुने गरी यस नगरपालिकाबाट अधिकृतस्तर १० औं तहको तलब भत्ता उपलब्ध गराउने ।’ स्रोत: नागरिकन्युज