धरान: गएको मंसिर १४ को उपनिर्वाचनमा धरानको मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भए । उनले नेकपाका उम्मेदवाार प्रकाश राईलाई पराजित गरेका थिए ।

संयोग कस्तो भने दुवै एकै वडा नं १८ का बासिन्दा हुन् । शुक्रबार मेयर राईलाई सोही वडाको स्कुल माउण्ट हर्मोन एकेडेमीले बार्षिक खेलकुदको समापनसँगै बधाई कार्यक्रम राखेको थियो । यो स्कुलको अध्यक्ष पनि गएको चुनावमा मेयर राईका निकटतम प्रतिद्धन्दी प्रकाश राई नै हुन् । उनले नै कार्यक्रमको प्रमुख अतिथिकोरुपमा मेयर राईलाई निमन्त्रणा गरेर बधाई तथा सम्मान कार्यक्रम राखेका थिए । उनी बिशेष कारणवश काठमाण्डौं जानुपरेकोले शुक्रबार कार्यक्रममा उपस्थित हुन भने सकेनन् ।

मेयर राईलाई विद्यालयका प्रिन्सिपल अनुप योञ्जन र प्रशासक नविन राईले खादासँगै बधाई तथा सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले उपमहानगरले धरानको शिक्षाको कार्यविधि बनाउने क्रममा रहेको भन्दै सुझाव दिन आग्रह गरे । भौतिक विकासले मात्र सर्वांगिण विकास नहुने भन्दै उनले शिक्षा र चेतनाको आयामलाई फराकिलो बनाउन उपमहानगर लागिपर्ने बताए । विद्यालयका प्रशासक नविन राईले विद्यार्थीहरुको पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइएको बताए ।

mayor-samman2

एकेडेमीको बार्षिक खेलकुदमा भएको विभिन्न ३५ इभेन्ट भएको थियो । त्यसमध्ये १३ स्वर्ण पदक जितेर येल्लो हाउस प्रथम भयो भने १२ गोल्ड जितेर ग्रिन हाउस दोस्रो र ४ स्वर्ण जितेर रेड हाउस तेस्रो भयो । यस्तै, अनुशासित हाउसको पुरस्कार ब्लु हाउसले पायो । विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल योञ्जन, प्रमुख अतिथि एवं मेयर राई, बिशिष्ट अतिथि एवं एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किसोर राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

mayor-samman-5jpg mayor-samman4