धरान: आदिबासी जनजाति समुदायको चाडपर्वहरुको विदा कटौती गर्ने सरकारको निर्णयको विरोध गर्दै आइतबार गुरुङ समुदायले सातै प्रदेशमा शान्तिपुर्ण प्रर्दशन गरेको छ । साथै, आदिबासी जनजातिहरुको चाडपर्वमा सार्वजनिक विदा दिन पनि गुरुङ समुदायले माग गरेको छ ।

तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदको नेतृत्वमा आइतबार सातै प्रदेशमा प्रर्दशन गरेको हो । अन्य प्रदेशमा जस्तै प्रदेश नं १ को इटहरीमा पनि छोज धीं प्रदेश समितिको अगुवाईमा प्रर्दशन भएको हो । इटहरीको चारै दिशामा राजमार्गको किनारमा दिउँसो १ बजेदेखि ३ बजेसम्म २ घण्टा प्ले कार्डसहित शान्तिपुर्ण प्रर्दशन भएको हो । प्रदेश १ को इटहरी चोकसँगै प्रदेश २ को नयाँ रोड सर्लाहरी, प्रदेश ३ को नारायणगढ, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगर, सुदुरपश्चिम प्रदेशको धनगढीमा र काठमाण्डौंको माइतीघर मण्डलामा एकैसाथ प्रर्दशन भएको छोज धींंका केन्द्रीय सहमहासचिव डम्बर तमु गुरुङले जानकारी दिए ।

tamu2

छोज धींले पुष १५ गते विगतमा दिदै आएको तमु ल्होसार र अन्य आदिबासी जनजातिहरुको चाडपर्वमा सार्वजनिक विदा दिन माग गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई आइतबार नै ज्ञापन पत्र पनि बुझाएको छ । प्रदेश अध्यक्ष कृष्णराज गुरुङ, केन्द्रीय उपाध्यक्ष भरतबहादुर गुरुङ, केन्द्रीय सहमहासचिव डम्बर तमुलगायतको नेतृत्वमा मुख्यमन्त्री कार्यालय विराटनगर गएर ज्ञापन पत्र बुझाएका हुन् । ‘वर्तमान सरकारले नै आदिबासी जनजातिहरुको महत्वपुर्ण चाडपर्वमा दिइदै आएको विदा कटौती गरेको थियो, यसको विरोधमा र विगतको सार्वजनिक विदा यथावत राख्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो,’सहमहासचिव तमुले भने,‘पुष १५ को तमु ल्होसार र अन्य आदिबासी जनजातिहरुको पर्वमा सार्वजनिक विदा दिन माग गरिएको छ ।’

प्रदेश ३, गण्डकी, कर्णाली र प्रदेश ५ मा पनि ज्ञापन पत्र बुझाएको जानकारी आएको केन्द्रीय सहमहासचिव तमुले जानकारी दिए । आदिवासी समुदायको राष्ट्रिय पर्वहरू तमू ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, माघे सकराटी, माघी, उधौली उभौलीहरूमा अन्तरिम सरकारको पालादेखी दिदै आएको सार्वजनिक विदा वर्तमान सरकारले गत बर्षदेखी खारेजी गरेको थियो । सरकारको यो निर्णयको आदिबासी जनजातिहरुले विरोध जनाउदै आएका छन् ।

tamu1