चतरा : नेपाली कांग्रेस भरौल इकाई कार्य समितिले बराहक्षेत्र वडा नं ५ को कार्यालयमा सचिवलाई हाजिर गराउन सात दिनको अल्टिमेटम दिएको छ ।

बराहक्षेत्र नगरपालिकाले तोकेको वडा सचिवलाई पाँच पटक वडा कार्यालय आउँदा समेत वडा नं ५ का अध्यक्षले हाजिर गर्न नदिएको घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै एकाई कार्य समितिले प्रेस विज्ञप्ति मार्फत वडा अध्यक्षको कार्यको भत्र्सना समेत गरेको छ । आइतबार बसेको भरौल काग्रेसको कार्य समितिको बैठका अनुसारको तयार भएको प्रेस विज्ञप्तीमा १ महिना देखि वडा सचिव नहुँदा वडाबासीमा परेको समस्यालाई वडाअध्यक्षले नजरअन्दाज गरी वडा सचिवलाई हाजिरी गर्न नदिनु गैर जिम्मेवारी भएको समेत पत्रमा उल्लेख गरेको छ ।

आइतबारनै भरौल कांग्रेसले वडा नं ५ को कार्यालयलाई ध्यानाकर्षण समेत गरेको छ । कांग्रेसको टोलीले आइतबार नै वडा कार्यालय पुगेको थियो । तर वडा अध्यक्ष राजु अधिकारी कार्यालयमा नभएपछि वडा सदस्य टेकबहादुर गौतमलाई ध्यानाकर्षणपत्र भरौल कांग्रेसका सभापति जगदबहादुर कार्कीले हस्तान्तरण गरेका थिए । ७ दिन भित्रमा वडाबासिको समस्यालाई समाधान गर्न स्थानिय तह सञ्चालन ऐन २०७४ अनुरुप वडासचिवलाई हाजिरी नगराए थप आन्दोलनका कार्यक्रम गर्न पत्रमा उल्लेख गरिएको छ ।