धरान: तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद सुनसरीले शनिबार गुरुङको चाड तमु ल्होसार धुमधामसँग मनाएको छ ।

सुनसरीको बर्जु गाउँपािलका ५ स्थित अमडुवामा रहेको अनुपमगंगा बुद्ध गुम्बामा भएको कार्यक्रममा मृग वर्गलाई विदा गर्दै मुसा वर्गलाई स्वागत मनाइएको हो । तमु ल्होसार पुष १५ मा पर्ने र उक्त दिन आआफ्नो गुम्बामा धुमधामसँग मनाइने भएकोले जिल्लाभरीको गुरुङहरुमा आपसी मित्रता, भेटघाट एवं चिनजान र शुभ कामना आदानप्रदान गर्ने उद्देश्यले शनिबार कार्यक्रम गरिएको जिला अध्यक्ष वकसमान गुरुङले बताए ।

उक्त कार्यक्रममा गुम्बाका जग्गा दाताहरुलार्इ सम्मान गरिएको थियो । यस्तै, त्यसक्षेत्रका ज्येष्ठ नागरिक र १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक विजेता धरानकी निता गुरुङलाई पनि सम्मान गरिएको थियो । साथै, प्रत्येक बर्ष प्रदान गरिने छात्रवृत्ति जनही ४ हजारको दरले ३ जनालाई वितरण गरिएको थियो । जिल्ला अध्यक्ष वकसमान गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद पदम कुमारी गुरुङ रहेकी थिइन् ।

छोज धीका सचिव धिरज गुरुङले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सचिव खम्बसिंह गुरुङ, सदस्य कर्ण गुरुङ, वडा अध्यक्ष श्याम गुरुङ, महिला केन्द्रिय उपाध्यक्ष शिला गुरुङ, जिल्ला अध्यक्ष बिष्णु गुरुङ र अन्य संघ सस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मौलिक घाटु नृत्यसहित विभिन्न नृत्यहरु प्रस्तुत भएको कोषाध्यष टंककुमारी गुरुङले जानकारी दिइन् ।