धरान : २०३३ साल पौष १६ गते वी.पी. कोइराला, गणेशमान सिंह लगायत नेताहरु राष्ट्रिय एकता र मेलमिलापको निति लिई स्वदेश फर्कनु भएको दिनलाई स्मरण गर्दै नेपाली कांग्रेसले उक्त दिनलाई प्रत्येक वर्ष राष्ट्रिय एकता र मेलमिलाप दिवसका रुपमा मनाउने गरेका छन् ।

सोही क्रममा वी.पी. चिन्तन प्रतिष्ठान धरान, सुनसरीले पनि आजको राष्ट्रिय राजनितिका सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप दिवस विषयमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पूर्व जिल्ला सचिव गिरिराज आचार्यले वी.पी. मेलमिलाप नीति लिई स्वदेश फर्कनुभएको समयमा पनि तत्कालिन पञ्चायती शासकले उहाँ सहित वरिष्ठ नेताहरु र असंख्य कार्यकर्ताहरुलाई गिरफ्तार गरी यातना दिइएको घटना स्मरण गरेका थिए ।

प्रदेश नं. १ का पूर्वप्रमुख डा.गोविन्द सुब्बाले वर्तमान समय नेपालको सिमा अतिक्रमण भईरहँदा राष्ट्रको सुरक्षाका निमित्त मेलमिलाप नीति अझ आवश्यक र सान्दर्भिक भएको बताए । यसैगरी वी.पी. विचार राष्ट्रिय समाज प्रदेश १ का अध्यक्ष दिपक लोहनीले दक्षिण एसियामा त्यस समय व्याप्त राजनितिक अस्थिरताबाट राष्ट्रलाई बचाउन वी.पी.ले मेलमिलाप नीति लिई स्वदेश फर्कनु भएको धारणा राखे ।

कार्यक्रमका सभापति डा. आनन्द आचार्यले यो राष्ट्रिय एकता र मेलमिलाप नीतिले राजनितिक दलको दायरा भन्दामाथि उठेर देशभित्रका सबै राष्ट्रवादी शक्तिका बिच एकता र मेलमिलाप नीति अवलम्बन गरी राष्ट्रिय समस्या, दल भित्रका आन्तरिक समस्या र सामाजिक समस्या पनि समाधान गर्ने धारणा राखे ।

विचार गोष्ठी कार्यक्रममा प्रजातान्त्रिक विचार समाज सुनसरीका अध्यक्ष जीवन कुमार राई, वी.पी. चिन्तन प्रतिष्ठानका पूर्व अध्यक्ष भिष्म काफ्ले, ने.का. पूर्व जिल्ला उपसचिव विकास आचार्य, पुष्प बराल, पूर्व प्र.अ. द्वय गोकुल श्रेष्ठ, सिसाम्बर झा, ने.म.संघ १ नं. क्षेत्रिय सभापति नेत्र कुमारी राई, सरिता सुब्बा, प्रेम पौडेल लगायतले मेलमिलाप दिवसको महत्व र सान्दर्भिकता बारे आ–आफ्ना विचार व्यक्त गरेका थिए । वी.पी. कोइरालाको तस्बिरमा माल्र्यापण गरी प्रारम्भ गरिएको कार्यक्रममा राष्ट्रिय टोपी दिवस पनि भएकोले कार्यक्रममा सभापतिले प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई टोपी समेत लगाईदिएको थियो ।