विराटनगर: नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्लास्तरका दुई नेताले आज आत्मसमर्पण गरेका छन् ।

मोरङ जिल्लास्तरका दुई नेताले आज जिल्ला प्रशासन कार्यालय मोरङका सहायक जिल्ला प्रमुख अधिकारी अनुज भण्डारी समक्ष आत्मसमर्पण गरेका हुन् । विप्लव नेतृत्वको पार्टीमा सक्रिय मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव नेतृत्वको नेकपामा ५ वर्षदेखि सक्रिय थिए । उनीहरु पार्टीको मोरङ जिल्लाको सचिवालय सदस्य थिए ।

पार्टीले अवलम्बन गरेको हिंसात्मक गतिविधिबाट चित्त नबुझेर परित्याग गरेको उनीहरुले बताए । साथै, संविधान र कानुनलाई स्वीकार गरेर अघि बढ्ने पनि दुवैले प्रतिवद्धता जनाएका छन् । ‘पार्टीले गरेको हिंसात्मक गतिविधिमा लागेको विषयमा चित्त नबुझेर पार्टी परित्याग गर्न घोषणा गर्दछौं,’जिल्ला प्रशासन कार्यालयमा बुझाएको पत्रमा भनिएकोछ,‘आगामी दिनमा नेपालको संविधान र कानुनलाई शिरोधार्य गरि अगाडि बढ्ने जानकारी गराउँछौं ।’ आत्मसमर्पण पछि जिल्ला प्रशासनमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा उनीहरुलाई छाडिएको सहायक प्रजिअ भण्डारीले जानकारी दिए ।

latter