काठमाण्डौं  : प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्काे विपक्षी दल समाजवादी पार्टीबीच आउँदो माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् । 

congress_YT0wV3ItUv