काठमाडौं : सत्यनिरूपण र बेपत्ता छानबिन आयोग गठन विवाद सल्टाउन शीर्ष नेताहरू फेरि जुटेका छन् । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको १३ वर्ष पुग्दा पनि यी दुई कामको टुंगो लागेको छैन।

राजनीतिक सहमति नजुट्दा र स्वार्थ हावी हुँदा यसअघि दुवै आयोगले काम गर्न नसकी समय गुजारेका थिए । आयोग गठनका लागि फेरि राजनीतिक सहमतिको प्रयास जारी छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार यस विषयमा छलफल भएको छ । आयोग गठनको विषय छिटो टुंग्याउने सन्देशसहित दाहाल पार्टी महासचिव विष्णु पौडेललाई लिएर देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए । ‘अब शान्ति प्रक्रियाका बाँकी काममा अलमल नगरौं । छिटो एउटा निष्कर्षमा पुगौं भन्ने विषयमा हामी देउवाजीलाई भेट्न पुगेका हौं’, महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘छलफल सकारात्मक भएको छ । छिट्टै निष्कर्षमा पुग्ने प्रयास भइरहेको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी ओलीसहित दाहाल र देउवाबीच छलफल गरी सहमति जुटाउने सन्देश बोकेर दाहालले देउवासँग भेट गरेका हुन् ।

‘अब बालुवाटारमा मंगलबार छलफल हुने कुरा छ । सत्यनिरूपणको विषय छिट्टै टुंग्याउन पार्टी सभापतिले आग्रह गर्नुभएकै छ’, देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘आयोग पदाधिकारी र सदस्यको नामका सवालमा सभापतिले गणेशदत्त भट्टको नाम अगाडि सार्नुभएको छ । अब सदस्यहरूमा छिटो सहमति जुटाऔं भन्ने उहाँ (शेरबहादुर देउवा)को आग्रह छ ।’ महासचिव पौडेलका अनुसार मंगलबार सकभर ओली, दाहाल र देउवासहितका नेताहरूको बैठक बसेर सहमतिको प्रयास गरिनेछ । -अन्नपूर्ण पोष्ट दैनिकबाट