धरान: मिडियामा दलित समुदायको पहुँच वृद्धि गर्ने र मिडिया क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले धरान १७ मा एक दिने मिडिया उत्प्रेरणा तालिम आयोजना भएको छ ।

पिस मिडिया गु्रपको आयोजना तथा धरान उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयको सहयोगमा एक दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा वडाका दलित समुदायसँगै अन्य लक्षित समुदायका युवाहरु पनि सहभागी भएका थिए । तालिममा १७ जना सहभागी भएको आयोजक संस्थाका अध्यक्ष एवं पत्रकार दिनेश गजमेरले जानकारी दिए । उनका अनुसार लक्षित एवं दलित समुदायको मिडियामा पहुँच पुर्याउनको लागि सोही समुदायका युवाहरुलाई मिडियामा उत्प्रेरित गर्न तालिम दिइएको हो । ‘यो तालिममा मिडिया क्षेत्रको महत्व, मिडिया किन आवश्यक छ, मिडियामा दलित एवं लक्षित समुदायका युवाहरु किन आउन आवश्यक छ भनेर बुझाउने काम भयो,’उनले भने,‘यो तालिमबाट उत्प्रेरित भएका युवाहरु पत्रकारिता तालिम लिन चाहेमा पुनः दोस्रो चरणमा ३ दिने वा ७ दिने तालिम दिन्छौं ।’

तालिम समापन समारोहमा वडा न. १७ का अध्यक्ष सुर्यबहादुर भटराई(मनोज)ले युवा पुस्ता उत्पादनमुलक एवं सृर्जनशील काममा सक्रिय हुन आवश्यक भएको बताए । तालिममा सकरात्मक उर्जा प्राप्त भएको अपेक्षा व्यक्त गर्दै उनले चेतनाको स्तर माथि उठेमा मात्र हरेक खालको विभेदको अन्त्य हुने पनि बताए । ‘चेतनशील हुनलाई अध्ययन गर्न जरुरी छ, सकरात्मक सोचको साथ सृर्जनशील हुनुपर्छ,’अध्यक्ष भट्टराईले भने,‘यो तालिमले समाजप्रति उत्तरदायी हुने उर्जा मिलोस् ।’

कार्यक्रमका अध्यक्ष एवं वडा सदस्य सुवास वर्देवाले पनि तालिमबाट जीवन उपयोगी कुरा सिकेको र आफ्नो जीवन, समुदायमा लागु गर्ने विश्वास व्यक्त गरे । सहभागी मणिराम सुन्दास र मिना विश्वकर्माले मिडियाबारे धेरै कुरा बुझ्ने अवसर पाएको बताए । तालिममा पत्रकार रोहित राईले सहजीकरण गरेका थिए ।