धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट बैठकमा सहभागी हुन धरानका मेयर र उपमेयर राजधानी गएका छन् ।

प्रतिष्ठानको शुक्रबार हुन लागेको सिनेट बैठकमा सदस्यकोरुपमा सहभागी हुनलाई मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी दुवै अहिले काठमाण्डौंमा छन् । धरानको मेयर सिनेटमा पदेन सदस्य रहने व्यवस्था छ भने उपमेयर भण्डारीलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही दिनअघि मात्र सिनेट सदस्यमा मनोनयन गरेका थिए । मेयर र उपमेयर दुवै काठमाण्डौं गएपछि धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी धरानको वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले पाएका छन् ।

२०७४ सालको स्थानीयतह निर्वाचन पछि कांग्रेसबाट जितेका वडा अध्यक्षले मेयर र उपमेयरको अनुपस्थितिमा कार्यवाहक मेयरको जिम्मेवारी पाएको यो पहिलो अवसर हो । गएको उपनिर्वाचनबाट मेयरमा कांग्रेसका तिलक राई विजयी भएकोले पनि यो सम्भव भएको हो । २०७४ को स्थानीयतह निर्वाचनमा धरानको मेयर र उपमेयरसहित १५ वडामा नेकपाले जितेको थियो भने कांग्रेसले ५ वटा वडामा मात्र जित हासिल गरेको थियो ।