काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन् ।

सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्। ‘म राजीनामा दिन्न, आइतबारको संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन् । पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो । दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन् । प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित थिए । ‘तपाईंहरू सल्लाह नै गरिरहनुभएको छ नि १ मिटिङ राख्नुहोस्, सल्लाह गर्नुहोस् । म रेस्टमा हुन्छु’, प्रधानमन्त्री ओलीले बैठकअघि नेताहरूलाई भनेका थिए । शनिबार मिर्गौला डायलासिस गरेपछि प्रधानमन्त्री ‘रेस्ट’ मा रहेका बेला सचिवालय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार तय नगर्दा संसद् बैठक झन्डै एक महिनादेखि अवरुद्ध छ । पुस ४ गते संसद् अधिवेशनको पहिलो दिन औपचारिक पूरा गर्नुबाहेक संसद्का बैठक तीन पटक सूचना टाँसेर स्थगन गरिएका छन् । संसद्को बैठक आइतबार बोलाइएको छ । -अन्नपूर्ण पोष्टबाट