धनकुटा : नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कोशी व्यूरो सदस्य संघर्ष भनिने अमर परियारले जिल्ला प्रशासन कार्यालय धनकुटामा आत्मसमर्पण गरेका छन् ।

परियारले गत पुस २४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे पनि प्रहरीले दुःख दिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् । उनले २०७५ पौष महिनादेखि नै पार्टीको गतिविधि र पार्टीको सम्पर्कमा नभए तापनि पुस २४ गतेदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरिसकेको बताए ।

धनकुटाको पाख्रीवास नगरपालिका १ सान्ने घर भएका परियार २०६१ सालदेखि राजनीतिमा सक्रिय थिए । उनी नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी हुँदै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको कार्यकर्ता भएका थिए । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपामा सक्रिय रहेका उनी दोस्रो संविधानसभा निर्वाचनमा बम विस्फोट गराएको अभियोगमा पाँचथरको फाल्गुनन्दबाट गिरफ्तारमा परि केही समयपछि छुटेका थिए । परियारले प्रतिबन्धित पार्टीमा अब आबद्ध नहुने भनी परियारले आत्मसमर्पण गरेकाले उनलाई धरपकड नहुने धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए ।