धरान: छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न विद्यालयका बालबालिकाहरुमा जनचेतना जगाउने उद्देश्यले दलित विकास समितिले धरानको स्कुलहरुमा अभियान शुरुवात गरेको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगतको समितिले धरान १६ स्थित पञ्चायत आधारभूत विद्यालयबाट अभियानको शुरुवात गरेको हो । कक्षा १ देखि ८ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकसहित एक घण्टीमा सचेतना अभियान कार्यक्रम गरिएको समितिले जनाएको छ । धरानको आर्थिक बर्ष २०७६।०७७ को बजेट अन्तर्गत छुवाछुतविरुद्ध स्कूल–स्कूल अभियान धरानका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन गर्न लागिएको समितिका संयोजक तथा कार्यपालिका सदस्य किशोर परियारले जानकारी दिए । उनले विद्यार्थीहरु परिवर्तनका पक्षधर भएको र बालबालिकादेखि नै मान्छे मान्छेबीच विभेद गर्नु हुँदैन भन्ने भावना विकास गराउन अभियान महत्वपूर्ण हुने बताए ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले धरानका ४९ वटा सामुदायिक विद्यालयमा यस प्रकारको कार्यक्रम सञ्चालन गर्नुपर्ने महशुस गरेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रअ भट्टराईले विद्यालयमा आफुहरुलाई थाह नभएका विषयसमेत प्रष्ट भएको र अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम भएकोमा खुशी लागेको बताए । कार्यक्रममा हास्य कलाकार बिनोद रसाइली ‘जुरेली’ ले विभिन्न नेता तथा चर्चित कलाकारहरुको अभिनय गर्दै जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्ने अभियानमा एकजुट हुन विद्यार्थीहरुलाई उत्प्रेणा दिएका थिए ।

दलित विकास समितिका सदस्य धनबहादुर हमालले कार्यक्रमको सञ्चालन गरेका थिए भने पञ्चायत आधारभूत विद्यालयकी सहायक प्रअ रमा लिम्बु, दलित विकास समितिका सदस्य रामधारी बासफोर, रामकुमार दास लगायतको समेत उपस्थिति रहेको थियो । समितिका सदस्य सचिव लामगादेले जात व्यवस्थाको अन्त्य गर्न सबै सचेत नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा जोडदिए ।

नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग–२, परिच्छेद–१० मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको दफा १६० मा भेदभावपूर्ण व्यवहार गर्न नहुने कानुन बनेको छ । भेदभाव गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । यहि व्यवस्था सबैलाई जानकारी दिन विद्यालयमा अभियान सञ्चालन गरिएको सचिव लामगादेले जानकारी दिए ।