धरान: नेपाली कांग्रेसका नेता महेश आचार्यले एमसीसीले नेपालीलाई दुई भागमा विभाजित बनाएको बताएका छन् ।

नेपाली कांग्रेस निर्वाचन परिचालन मुल समितिको आयोजनामा धरानको गोरखा डिपार्टमेन स्टोरको सभाहलमा भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता आचार्यले दुई तिहाइको सरकारले नेपालीलाई दुई भागमा विभाजित गरेको आरोप लगाए । उनले भने,‘एमसीसीको कसैले विरोध गरेको छ, कसैले समर्थन गरेको छ ।’ उनले एमसीसी बारे जनता अन्योलमा रहेको बताउदै सरकारले तत्काल संसद बोलाएर स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘के कुरा ठिक के कुरा बेठिक त्यो जनताले थाहा पाउन मुस्किल परेको छ, सम्झौता भने के समझौता हो ? त्यो जान्न पाउनु पर्यो नी’ नेता आचार्यले भने ‘यस्तो पनि देशमा अराजकता ल्याउन पाइन्छ ? सरकारले तत्काल संसद बोलाएर एमसीसी सम्बन्धी सारा कागजपत्र दिएर सारा देशले हेर्न पाउनु पर्छ, सरकारको धारणा के हो ? त्यो संसदको माध्यमबाट जनताले सुन्न पाउनुपर्छ ।’

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता आचार्यले सरकारले सदनमा सत्यतथ्यरुपमा एमसीसीसंगको सम्झौताको विषयमा सबैलाई बताउनुपर्ने बताए । दुई तिहाइको सरकारले संसदलाई बन्धक बनाएको आरोप लगाउदै मनपरी कानुनहरु निर्माण भइरहेको गम्भीर आरोप लगाए । धरानको उपनिर्वाचनले नेपाली कांग्रेसमा एकता सन्देश दिएको उल्लेख गदै आगामी पार्टीको १४ औं अधिवेशनमा समेत एकताको सन्देश दिनुपर्ने बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई बधाइ तथा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै मेयर एबंम कांग्रेस धरान नगर सभापति राईले धरानको उपनिर्वाचनले पार्टी केन्द्रमा आफुहरुको छुटै अस्तित्व स्थापित भएको बताए । उनले मेयरले केही काम गरेन भनेर नअतालिन कार्यकर्ताहरुलाई आग्रह समेत गरे । ‘मेयरले केही काम गरेन भन्नुहोला त्यस्तो हैन, म धरान उपमहानगरपालिकामा प्रबेश गरेको धेरै भएको छैन,’उनले भने,‘सफल रुपमा धरान स्थापना महोत्सव मनाइयो, यो पनि म गए पछिको राम्रो उपलब्धी हो ।’

कार्यक्रममा पार्टीका जिल्ला सभापती एबंम प्रदेश संसदीय दलका नेता राजिब कोइरालालगायतले बोलेका थिए । कार्यक्रम कांग्रेस क्षेत्रीय सभापती सुरेशमान श्रेष्ठको सभापतीत्वमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता एबंम सुभेच्छुहरुको सहभागीता रहेको थियो ।