विराटनगर : राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेश १ बाट तीनैजना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

बिहीबार विराटनगरस्थित विरेन्द्रसभागृहमा भएको मतदानमा नेकपाका उम्मेदवारहरू देबेन्द्र दाहाल, गोपीबहादुर सार्की (आछामि) र इन्दीरादेवी गौतम विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य तर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेलाई पराजित गर्नुभएको छ । घिमिरेले २ हजार ७ सय ६६ मत प्राप्त गर्दा समाजवादी पार्टीका उम्मेदवार भरतराज दाहालले २ सय ६४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा दाहाललाई मतदान गर्ने नेकपाका एक सांसदको मत बदर भएको छ ।

यस्तै महिलातर्फ विजयी नेकपाकी गौतमले ६ हजार ४ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी मिना पुलामी मगरले २ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो हुनुभएकी समाजवादी पार्टीकी कमला बडाहीले २ सय ६४ मत प्राप्त गर्नुभयो । प्रदेशसभामा नेकपाका ६७ सांसद भएपनि गुलेफुन मिया अनुपस्थित हुँदा गौतमलाई ६९ जनाले मतदान गरेका थिए । उहाँलाई कांग्रेसका २ र रापपा नेपालका १ सांसदले मतदान गरेको पाइएको छ । यस्तै कांग्रेसका २१ सांसद भएपनि १९ जनाले मात्रै पुलामीलाई मतदान गरेका थिए । ३ सांसद रहेको समाजवादी पार्टीका उम्मेदवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसदले मतदान गरेपछि ४ जनाको मत प्राप्त भएको थियो ।

स्थानीय तहतर्फ गौतमलाई १ सय ७३ जनाले, मगरलाई ९५ जनाले र बडहीलाई ४ जनाले मतदान गरेका छन् । कांग्रेसका २ सांसदले पनि सूर्यमा मतदान गरेकोले कांग्रेसभित्र अन्तरघात भएको देखिएको छ । नेकपाका स्थानीय तहका जनप्रतिनिधि १ सय ७४ जना भएपनि १ जना अनुपस्थित रहेका थिए । यस्तै कांग्रेसका १ सय ८ जना स्थानीय तहका मतदाता भएपनि १३ जना अनुपस्थित रहेका थिए ।

यस्तै दलिततर्फ नेकपाका गोपीबहादुर आछामिले ६ हजार ३ सय ३० मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको छ । समाजवादी पार्टीका ज्ञानकुमार परियारले २ सय ६४ मत प्राप्त गर्नुभयो । दलिततर्फ सूर्यमा ६७, रुखमा २१ र हातमा ४ जनाले मतदान गरेका छन् । स्थानीय तहतर्फ अछामिलाई १ सय ७३, विश्वकर्मालाई ९५ र परियारलाई १८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनको लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको थियो । प्रदेश १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७४ गरी कुल ३६७ जना मतदाता थिए । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ ।

नेकपाकाका तर्फबाट दलित कोटामा विजयी अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन् । उनी पार्टीको केन्द्रीय सदस्य र मोरङ जिल्ला कमिटीका सह-इन्चार्ज छन् । महिलातर्फबाट विजयी सुनसरी इटहरीकी गौतम अखिल नेपाल महिला संघकी केन्दीय सदस्य पनि हुन् । त्यसैगरी, अन्यतर्फबाट विजयी बनेका दाहाल तत्कालीन एमालेको झापा जिल्ला सचिव एवं हाल पार्टीको केन्द्रीय सदस्य तथा झापा जिल्ला सह-इन्चार्ज छन् ।