धरान : सोमबार बसेको धरान उपमहानगर कार्यपालिका बैठकले पूर्व मेयर ध्यानबहादुर राईको सालिक निर्माण तथा शोक सभा गर्ने र घर नक्शा तथा बाटो मापदण्ड सम्बन्धमा कार्यदल गठनको निर्णय गरेको छ ।

वडा नं. १७ स्थीत रहेको सप्तरङ्गी पार्कमा स्वर्गिय पूर्वमेयर ध्यान बहादुर राईको शालिक निर्माण गर्ने कार्यपालिका बैठकले घोषना गरेको छ । साथै धरान ८ मा रहेको सभागृह हलमा शोकसभा समेत गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

यसैगरी कार्यपालिका बैठकले घर नक्शा तथा बाटो मापदण्डको सम्बन्धमा ९ सदस्यीय समिति गठन गरेको छ । घर नक्शा तथा बाटो मापदण्डको सम्बन्धमा संयोजक वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई छन् भने सहसंयोजकमा वडा नं. १२ का टंक बहादुर राई छन् ।

गएको आईतबार बसेको कार्यपालिका बैठकले आगामी फागुन २ र ३ गते छैटौं नगरसभा गर्ने निर्णय गरेको छ । आईतबार नै कर समायोजन कार्यदल गठन गर्ने सम्बन्धमा १३ सदस्यीय समिति गठन समेत गरेको थियो । कर समायोजन कार्यदलको संयोजकमा वडा नं १५ का अध्यक्ष नरेश इवारम छन् भने सहसंयोजकमा वडा नं १८ का अध्यक्ष नरेन्द्र राई (प्रविण) छन् ।

सोमबार खानेपानी समायोजनको विषयमा मौखिक कुरा मात्र उठेको तर कुनै निर्णय नभएको १८ नं. का वडाध्यक्ष नरेन्द्र राई (प्रविण) ले टेलिफोन सम्पर्कमा जानकारी दिए । वडाध्यक्ष राईले भने, ‘वडा नं. ९ मा मात्र खानेपानीको समस्या हैन, धरानको सबै वडामा खानेपानीको समस्या छ ।’ राईका अनुसार खानेपानीको विषयमा एडिवीसँग समन्वय गरी २० वटै वडामा खानेपानी समायोजन गर्ने छलफल भएको हो ।