इटहरी :  नेपाल टेलिभिजनको पाँचौ च्यानल एनटिभि इटहरीले औपचारिक प्रशारण सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट शुक्रबार मोवाइल एप मार्फत स्विच अन गरेर च्यानलको सुरुवात गरेका हुन ।

परिक्षण प्रशारण शुरु गरेको १६ दिनपछि नेपाल टेलिभिजन स्थापनाको ३५ औ स्थापना दिवसको अवसरमा इटहरी च्यानलको नियमित प्रशारण शुरु भएको हो । च्यानलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले च्यानल संचालनमा सहयोग पुर्‍याउने जग्गादाता लगायतलाई धन्यवाद दिएका थिए ।

२०५५ सालमा इटहरीमा नेपाल टेलिभिजन स्थापना गर्न स्थानीयले निःशुल्क जग्गा दिए। स्थानीय जुल्मिदेबी थरूनीले २१ वर्षअघि दिएको निःशुल्क जग्गामा यतिबेला नेपाल टेलिभिजन इटहरी च्यानलको विशाल भवन बनेको छ। इटहरीको वार्ड नम्बर ७ स्थित बज्राह भन्ने ठाउँमा निःशुल्क १० कठ्ठा उपलब्ध गराएको २१ वर्षपछि टेलिभिजनको सुरुवात भएको हो।

जुल्मीदेवी थरूनीले उपलब्ध गराएको जग्गामा इटहरीले टेलिभिजन स्थापनाको ३५ वर्षमा नेपाल टेलिभिजन इटहरी च्यानल पाएको हो। बिहीबारबाट उक्त जग्गामा निर्माण भएको तीनतल्ले भवनबाट एनटिभी इटहरी च्यानल सुरु भएको हो।

उद्घाटन समारोहमा बोल्दै नेपाल सरकारका सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इटहरी च्यानलले पूर्वी भेगको जातजाति भाषा समुदायको खबर सम्प्रेषण गर्ने बताए । समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की,राष्ट्रिय सभा प्रदेश सभाका सदस्य लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।