धरान : ताप्लेजुङको फुङलिङ बजारमा अहिले सम्म भएको आगलागीमा १ अर्व १० करोड बराबरको क्षति भएको छ ।

यो क्षति गए राति भएको आगलागी बाहेकको हो । फुङलिङ बजारमा २०६० साल देखि यता मात्रै ५ पटक भीषण आगलागी भएका छन् । गए राति भएको आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा एक्किन भई नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् । उनका अनुसार बिहान बसेको सर्वपक्षीय बैठकले ७ घर भनिँदै आएकोमा ८ घर जलेर पुर्णरुपमा क्षति भएको विवरण प्राप्त भएको छ ।

आगलागीबाट नेत्र कार्की, खेमराज केसी, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठग बहादुर कार्की, नारायण भट्टराई, हस्तमाया लछर्वु र रामकुमार शाहको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन् । ती आठ घरमा आश्रित ३३ परिवारलाई फुङलिङ नगरपालिकाले २५ किलो चामल, २ किलो नुन, २ किलो दाल, ३ किलो आलु राहत वितरण गरेको छ भने रेडक्रस ताप्लेजुङले त्रिपाल, भाडावर्तन पीडित परिवारलाई उपलब्ध गराएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अझै आई सकेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउने बित्तिकै जिल्ला बिपद व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।

फुङलिङमा मात्रै यो सँग पाँच पटक आगलागी :
पूर्वी पहाडी जिल्लाहरूको तुलनामा सुख्खा याममा सबै भन्दा बढी आगलागी भएको ताप्लेजुङको सदरमुकाम फुङलिङ अग्रपंत्तीमा आउँछ ।

यसभन्दा अघि २०६० सालमा फुङलिङ बजारको विरेन्द्रचौकमा एसएलसी दिने विद्यार्थी लोडसेडिङको बेलामा मैनबत्ती बालेर पढनेक्रममा आगलागी भएको थियो । सो आगलागीले ४५ घर जलेर खरानी भएका थिए । त्यसै गरी २०६९ साल कार्तिक १८ गते दोस्रो पटक आगो लागेको थियो । त्यतिखेर ७ घर जलेका थिए ।

यसै गरी २०७० साल माघ ९ गते भएको अर्को आगलागीमा ११ घर जलेका थिए । २०७१ साल चैत्र ९ गते लागेको अर्को आगलागीमा २२ घर जलेका थिए । यस पटक लागेको आगोमा विगतको तुलनामा कम घर जलेको भए पनि क्षतिको विवरण अझै आउन सकेको छैन । यसरी ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागीका घटना दोहोरिनुको मुख्य कारणको अव्यवस्थित बसोबास, मानवीय हेलच्यक्राईले भएको ताप्लेजुङका पत्रकार देवराज गुरुङ बताउँछन् ।

नका अनुसार ताप्लेजुङको फुङलिङमा भएका आगलागीहरू रोटी पोल्दा, रक्सी झान्दा अनि कुपीबाट सल्किएर भएका घटनाहरू छन् । यस कारण पनि मानवीय असावधानीकै कारण आगलागी हुने गरेको उनी दाबी गर्छन् ।