धरान : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रवार राती भएको भीषण आगलागीको प्रारम्भिक क्षतिको विवरण आएको छ ।

क्षति विवरण सङ्कलन गर्न बनेको ४ सदस्यीय समितिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ क्षति भएको विवरण सङ्कलन गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको यो विवरण प्रारम्भिक हो । विवरण अनुसार संस्थागततर्फ २२ लाख क्षति भएको छ भने व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार क्षति पुगेको छ । संस्थागत तर्फ विभिन्न संघसंस्थाहरुको सम्पत्ति क्षति पुगेको समेटिएको बताइएको छ ।

४ सदस्यीय समितिमा उद्योग बणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, फुङलिङ नगरपालिका र प्रहरी रहेका थिए । ती ४ सदस्यीय समितिले आगलागीबाट ८ वटा घरमा क्षति पुगेको थियो । ती मध्ये २ वटा पक्की घर थियो भने ६ वटा कच्ची घर भएको विवरण निकालेको छ ।

आगलागीबाट जम्मा २९ घर परिवार प्रभावित हुन पुगेको पनि समितिले जनाएको छ । यसअघि ३३ घरपरिवार प्रभावित भएको भनिए पनि क्षति विवरण सङ्कलन समितिबाट २९ परिवार प्रभावित हुन पुगेको विवरण आएको ताप्लेजुङका पत्रकार देवराज गुरुङले जानकारी दिएका छन् । प्रारम्भिक विवरण आएसँगै ताप्लेजुङ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी थप आगलागी पीडितहरूको बारेमा निर्णय गर्ने प्रजिअ निरौलाले बताएका छन् ।