धरान : कृषि उपज बजार स्थलले तोकेको भन्दा महँगोमा बिक्री गर्ने तीन जना व्यापारीलाई कारबाही गरी जरिवाना तिराइएको छ ।

धरान उपमहानगर स्तरीय सागसब्जी अनुगमन समितिले सुरज कुमार चौधरी ,उपेन्द्र मुखिया, छत्तिस शाहलाई कृषि उपज बजारमा निर्धारण भएको भन्दा महँगो दाममा बिक्री गर्नका लागि कृषि बजारबाट खर्बुजा खरिद गरी घरमा भण्डारण गर्नेक्रममा १० बोरा खर्बुजा जफत गरिएको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

उनीहरूलाई कालोबजारी गरेको आरोपमा कारबाही गरिएको बताइएको छ । उनीहरूलाई सहयोग गर्ने गाडी ड्राइभरले समेत अनधिकृत रूपमा सामान ओसारपसार गरेकोले २५०० रुपैयाँ जरिवाना र अनधिकृत रूपमा खरबुजा बिक्री गर्ने चौधरी लगायत उनका सहयोगीलाई ५१०० जरिवाना सहित कारबाही गर्ने निर्णय समितिले गरेको छ । गाडी भने सामान झारेर गइसकेको अवस्थामा फेला पारिएपछि कारबाही गरिएको अनुगमन समितिका सह संयोजक १३ न वडाका अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी गराएका छन् ।