धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले नागरिकमा जिम्मेवारी बोध नहुनु, सामाजिक अभियन्ता र जनप्रतिनिधिहरूको प्रभावकारी भूमिका नहुँदा सुनसरीमा लकडाउनमा समस्या देखिएको बताएका छन् ।

स्थानीय निकायहरूले सर्वसाधारणको जनजीवनलाई सहज बनाउन बिहानको समय बजारमा किनमेल गर्ने समय तोकिएको अवस्थामा सर्वसाधारण हुल बाँधेर बजारमा निस्किनुले समस्या सिर्जना भएको उनले बताए । केही दिन अघि सुनसरीको इटहरी उपमहानगरपालिकामा जुन अवस्था बजारको देखिएको थियो त्यो अहिले कम भइसकेको दाबी गर्दे प्रमुख जिल्ला अधिकारी पौडेलले भने “कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहेको बेलामा यहाँका सामाजिक अभियन्ता, जनप्रतिनिधिहरुले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।”

सामाजिक अभियान्ताहरुले सामाजिक सचेतनामूलक कार्यक्रमहरू गरेर सर्वसाधारणलाई सुसूचित गर्नुपर्छ । त्यस्तै जनप्रतिनिधिहरुले पनि आ आफ्नो वडा र क्षेत्रका सर्वसाधरणहरुलाई सचेत र सजग बनाउन सक्यो भने वातावरण आफै सहज हुन्छ । तर त्यसो हुनुको साटो समाजका अगुवाहरुनै लकडाउनको बेलामा पालना गर्नुपर्ने कुनै पनि नियमको पालना नगरी घर बाहिर निस्किएकोमा आफूलाई दुःख लागेको प्रजिअ पौडेलले बताए । लकडाउन प्रभावकारी भएन भनेर प्रहरी प्रशासनलाई मात्रै दोष दिनु गलत हो ।

पहिले आफैले पनि सोच विचार गरेर मात्रै घरबाहिर निस्कियो भने मात्रै पनि समस्या समाधान हुने प्रजिअ पौडेलको भनाई छ । लकडाउनको समयमा सुनसरीमा मात्रै ८४ हजार ३ सय ३८ घर धुरीलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार जिल्लाभरीेका स्थानीय निकायहरूले सङ्कलन गरेको लगतका अनुसार अति विपन्न परिवारका घरधुरीलाई राहत वितरण गरिएको हो ।

यसै गरी सुनसरी जिल्लामा ८ सय ९० जनाको आरडिटी परीक्षण गरिएको छ भने ७ सय ३९ जनाको भिसिआर परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिएका छन् । जिल्लामा अहिले सम्म १ सय ४१ जना सुनसरी जिल्लाका विभिन्न सरकारी क्वारेनटाइनमा बसेका छन् भने २ हजार २५ जनाको स्वास्थ्य परीक्षण गरी होम क्वारेनटाईनमा बसेका छन् ।