धरान : सिराहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा सोमबार दिउँसो राहत वितरणको क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले दिएको जानकारी अनुसार १ सय ४१ जनाको राहत वितरणका लागि नामलिष्ट रहेकोमा १ सय ३२ जनाले लिए पछि बाँकी नआएको भन्दै नाम लिस्ट नभएकाहरूले विवाद गरेपछि झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्याँस प्रहार गरेको डिएसपी जैसवारले कपुरी न्युजलाई जानकारी दिए । झडपका क्रममा डिएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् । बाँकी २ जना स्थानीय पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् । घाइतेहरू सबैको मिर्चैया स्थित अस्पतालमा उपचार भइरहेको छ । लकडाउनबाट समस्यामा परेका गरिब विपन्नहरूलाई नदिई अरूलाई राहत बाँडेको भन्दै विवाद भएको थियो ।

राहत नपाएका स्थानीयहरूले राहत माग्दै वडा कार्यालय परिसरमा धर्ना दिएपछि प्रहरीको सहयोगमा राहत वितरण सकेर जान लाग्दा वडाध्यक्ष सहित जनप्रतिनिधिको समूहमाथि स्थानीयहरूले ढुंगामुढा गरेपछि झडप भएको डिएसपी जैसवारले बताए । हवाई फायर र अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरबितर पारिएको प्रहरीले जानकारी दिएको छ । वडाध्यक्षले एकलौटी र पूर्वाग्रही ढङ्गले राहत वितरण कार्य गरेको उनीहरूको आरोप छ ।