धरान : सुनसरी उद्योग वाणिज्य संघले धरान बजारमा वैशाख २३ गतेदेखि लागुहुनेगरि खाद्यान्नको खुद्रा दररेट सार्वजानिक गरेको छ ।

व्यवसायीहरुले आफूखुशी खाद्य वस्तुहरु बेचिरहेको गुनासो आइरहेकोले दररेटमा एकरुपता कायम गर्न दरभाउ ल्याइएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले बताए । श्रेष्ठले खाद्यान्नहरुमा थोक मूल्यमा उतार चढाव आएमा मूल्यसुची हेरफेर हुन सक्ने बताएका छन् ।

साथै यस सम्बन्धमा व्यवसायीहरुले यस भाउ अनुसार बिक्री वितरण नगरेमा उपभोक्ताहरुले सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवाललाई ९८५२०४७४८४ र अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठलाई ९८५२०४५४५९ मा सिधै सम्पर्क गर्न सकिने कार्यसमितिका सदस्य विष्णु बरालले बताएका छन् ।

व्यवसायीहरुले खाद्यान्न पसल सञ्चालन गर्दा केही शर्तहरु समेत पालना गर्न सुनसरी उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । “उपभोक्ता र व्यवसायीहरुकै हितमा यी शर्तहरु ल्याईएको र व्यवसायीहरुले पालना गरिदिनुहुन समेत व्यवसायीहरुलाई अनुरोध गर्दछौं” अनुगमन समितिका सदस्य विष्णु बरालले बताए ।

ब्यावसायीले अनिवार्य शर्त पालना गर्नुपर्ने 
धरान उपमहानगरपालिकामा सम्पन्न बैठकले हालै लकडाउनको क्रममा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न धरानभरिका खाद्यान्न पसलहरु बिहान ६ देखि ९ बजेसम्म खोल्ने भन्ने निर्णयअनुसार पसल खोल्दा निम्नानुसारको नियमहरु लागु गराउनुपर्ने सुनसरी उद्योग बाणिज्य संघले जनाएको छ ।

हरेक खाद्यन्न पसलका प्रोप्राईटरले पसल खोल्न वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ । सुनसरी उद्योग वाणिज्य संघबाट उपलब्ध गराईएको मूल्य सुचि लिई अनिवार्य रुपमा सबैले देख्नेगरि राख्नुपर्नेछ । पसल भित्र भिडभाड नहोस् भन्ने हेतुले पसल अगाडि डोरी लगाई पसल भित्र जान रोक लगाउनु पर्नेछ ।

पसलमा सामाजिक दुरी (१ मिटर) कायम गर्नुपर्नेछ । पसलमा बस्ने व्यवसायी र कर्मचारीहरुले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने छ । पसल अगाडि हात धुने साबुन, पानी र तौलिया राख्नुपर्नेछ । पैसाको कारोबार गरिसकेपछि सेनिटाईजर प्रयोग गर्नुपर्नेछ । र गुणस्तरीय र म्याद नगुज्रिएका खाद्य वस्तुमात्र बिक्री गर्नुपर्नेछ ।

समितिले पसल सञ्चालन गर्दाका समयमा आवश्यक मापदण्ड पुगेको छ वा छैन भनि अनुगमन गर्नका लागि कार्यसमितिका सदस्यहरुलाई प्रत्येक वडामा अनुगमन गर्न समेत तोकिएको महासचिव राजेश अग्रवालले बताएका छन् ।