धरान : तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ५ इसिबुमा छोराले बाबु आमाको बन्चरोले प्रहार गरेर हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेजबहादुर दाहालले दिएको जानकारी अनुसार बिहीबार साँझ पारिवारिक विवादमा १८ वर्षीय छोरा कञ्चन लिम्बुले ४२ वर्षीय बुवा रीतबहादुर लिम्बु र कान्छी आमा उषा लिम्बुलाई बन्चरोले प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बुवा र कान्छी आमा सहित ६ महिनाकी बालिका सहित ४ जना मात्रै बस्दै आएको सो परिवारमा पारिवारिक वादविवाद पछि उनले बन्चरो प्रहार गरेको अभियुक्तले प्रहरीलाई बताएका छन् ।

उनी आफैले हत्या गरिसकेपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुममा फोन गरी आफूले बुवा र सौतेनी आमाको हत्या गरेको जानकारी गराएका थिए । प्रहरीले उनलाई फेदाप गाउँपालिका २ देउरालीबाट हिजै प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी निरीक्षक तेजबहादुर दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको मुचुल्का गरेर शवलाई तेह्रथुम पोस्टमार्टमका लागि ल्याउने तयारी भइरहेको छ ।