धरान : धरानमा पछिल्लो समय फौजी किराको प्रकोप देखिए सँगै अहिले फेरी धरानको मकैमा पात डढुवा रोग देखा परेको छ ।

धरान १४ विजयपुर क्षेत्रमा मकैको धानचमर निस्किने समयमा गाभा कुहिने र पात डढने रोग देखा परेको छ । मकैमा धानचमर निस्किने बेलामा मकैको पात डढ्ने र सुक्दै जाने भएकोले यो रोग २० देखि २५ डिग्री सम्मको तापक्रममा अलि बढी सुख्खा भयो भने यस्तो रोकको प्रकोप हुने धरान उपमहानगरपालिकाका कृषि महाशाखाका प्रमुख नगेन्द्र तामाङले बताए ।

यो रोगको नाम पात डढुवा, मेडिस लिपलाईड भन्ने गरेको प्रमुख तामाङले बताए । फौजी किरा जस्तो धेरै नफैलिने भए पनि यो रोगले बाली नै सुकाई दिने र डढेर सुक्ने गर्दछ । यसो हुँदा यो रोग पनि मकै खेतीको लागि डरलाग्दो रोग हो ।

सुरुको अवस्थामा मकै सामान्य देखिए पनि जब धानचमर निस्किनेबेलामा मकै एकैै पटक सुक्न थाल्छ र पातमा डढेको जस्तो लक्षण देखिने कृषि विज्ञहरूको भनाई छ । विजयपुर क्षेत्रमा यस्तो समस्या देखिएकोले धरानका अरू क्षेत्रमा पनि देखिन सक्नेमा कृषकहरू चिन्तित छन् ।