धरान : धरानमा लकडाउन उल्लङ्घन व्यापक बढन थालेपछि धरान प्रहरीले कडाइ गर्न थालेको छ ।

धरानमा लकडाउनको बेलामा पनि सोमबारमा धरान बजार बन्द भए जतिकै सर्वसाधारणको आउजाउ र सवारी साधन बढी चलेकोले इलाका प्रहरी कार्यालयले आज धरानका विभिन्न ठाउँमा कडाइका साथ चेकजाच गरेको छ ।

प्रहरीको चेक जाँचको क्रममा धरानका विभिन्न ठाउँबाट पास नलिएका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । उनका अनुसार आज बिहान मात्रै १ सय ६२ मोटर साइकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ भने एउटा सिटी सफारीलाई पनि नियन्त्रणमा लिइएको छ ।

1

लकडाउनमा धरानको जनजीवनलाई सहज बनाउन अघिल्लो आइतबार देखि बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्न र तरकारी किन्नका लागि सर्वसाधारणलाई आउजाउ गर्न लकडाउनमा पनि दिने भनिएकोमा व्यापक लकडाउन उल्लङ्घन गरी सवारीसाधनहरू चलेकाले प्रहरीले कडाइ गर्दे आज चेकजाच गरिएको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अव धरानमा विना पासका सवारी साधन चलाएको पाइएमा प्रहरीले कारबाही गर्ने छ ।

पहेलो ज्याकेटमय धरान :
धरानमा पछिल्लो समय लकडाउनको बेलामा पहेलो ज्याकेटधारीहरूको बाक्लो आउजाउ बढेको छ ।

पहेलो ज्याकेट विषेशगरी संञ्चारकर्मीहरुलाई टाढैबाट चिनिन सजिलो होस भनेर लगाउने गर्दछन् । तर अहिले संञ्चारकर्मीहरुले मात्रै होइन धरानमा पहेलो ज्याकेटधारीहरू बढनाले प्रहरीलाई समेत को सञ्चारकर्मी, को होइन भनेर झुक्किन थालेका छन् । धरानमा केवल अपरेटर, इन्टरनेट अपरेटर, चालक, सफाई मजदुर, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी र जनप्रतिनिधि सँगै अरूले पनि पहेलो ज्याकेट लगाउन थालेका छन् ।

यसरी पहेलो ज्याकेटधारीहरू माथि अव प्रहरीले कडाइ गर्ने भएको छ । पहेलो ज्याकेट लगाएर निर्धक्क हिड्नेहरुको सङ्ख्या लकडाउनमा बढेपछि अव प्रहरीले सवारी चालक पास छ की छैन भनेर चेक गर्ने बताइएको छ ।