धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका २७ जनालाई आज क्वारेनटाईनमा पठाइएको छ ।

पछिल्लो समय भुल्के गाउँका मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ जना पुगेको छ भने १४ जना निको भई सकेका छन् । दिनानुदिन भुल्के गाउँमै कोरोना सङ्क्रमण बढ्दै गएपछि कोरोना सङ्क्रमित नजिकका आफन्त र कोरोना सङ्क्रमित परिवारका २७ जनालाई सोमबार त्रियुगा जनता बहुमुखि क्याम्पसको क्वारेनटाईनमा लगिएको त्रियुगा नगरपालिका वडानं. ३ का वडाध्यक्ष अवधेश चौधरीले बताए ।

Bhulke-2

कोरोना सङ्क्रमित ३ घर परिवारका र भुल्के क्षेत्रमा बढी अटेरी भई घुमफिर गर्ने ४ जना गरी २७ जनालाई आज क्वारेनटाईनमा पठाइएको भुल्केका सञ्चारकर्मी यदु ढकालले जानकारी दिए ।

भुल्केमा दिनानुदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानु र स्थानीयवासीको अटेरीपन बढ्दै जानुले भुल्केमा झन् कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको बताइएको थियो । कोरोना सङ्क्रमित समेत अस्पताल जान नमानेको घटनाले गर्दा भुल्केमा कोरोनाको जोखिम उच्च हुँदै गएको बताइँदै आएको थियो ।