धरान : धरान उपमहानगरपालिकाले लकडाउनमा २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैयाँ बराबरको राहत वितरण गरेको छ ।

आज धरान उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै सो परिमाणको राहत वितरण गरिसको जनाएको हो । जसअनुसार पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजार ८ सय ५५ रुपैयाँ, दोस्रो चरणमा २० हजार ६ सय १२ परिवारलाई १ करोड २४ लाख ७१ हजार ३ सय बराबरको राहत वितरण गरेको मेयर तिलक राईले जानकारी दिए । उपमहानगरपालिकाले फुड बैङ्कमा जम्मा भएको खाद्यान्न वडा कार्यालयमार्फत टोल विकास संस्थालाई राहतको लागि नामावली सङ्कलन र वितरणको जिम्मा दिएको थियो ।

धरानमा पहिलो चरणमा ९३ हजार २ सय ४० किलो चामल, दाल ६ हजार २ सय २५ किलो, नुन ९ हजार ३६ किलो, तेल ९ हजार ३६ लिटर, आलु ३५ हजार ७ सय ४४ किलो साबुन ६३.६६ कार्टुन र न्युटेला २८ सय ११ किलो वितरण गरिएको मेयर राईले बताए । दोस्रो चरणको राहतमा चामल २ लाख ६ हजार १ सय २० किलो, दाल ५ हजार ४ सय ६५ किलो, नुन २० हजार २९ किलो वितरण भएको थियो भने तेल २० हजार २९ लिटर र न्युटेला ७ हजार ५ सय ७४ किलो वितरण भएको बताइएको छ ।

पहिलो र दोस्रो चरणको राहतको २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैयाँ बराबरको खाद्यान्न खरिद गरिएकोमा उपमहानगरले बजेट अभावमा सबै रकम भुक्तानी गर्न नसकिरहेको पनि जनाईएको छ । भुक्तानी गर्न ६४ लाख १६ हजार ३ सय ८१ रुपैयाँ अझै बाँकी रहेको पत्रकार सम्मेलनमा मेयर राईले जानकारी दिए ।

बिहीबारदेखि धरानमा तेस्रो चरणको राहत वितरण सुरु गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी गराएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए ।

तेस्रो चरणमा पनि २० हजार ६ सय १२ परिवारलाई १ करोड १३ लाख ३४ हजार रुपैयाँ बराबरको राहत वितरण गरिने उपमहानगरले जनाएको छ ।
पत्रकार सम्मेलनमा धरानमा राहत वितरणका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा सहयोग गर्न पनि अपिल गरिएको छ ।