धरान : कोरोनाको जोखिम बढेको भन्दै एक हप्ता बन्द भएर पुन सञ्चालनमा आएको कृषि उपज बजार स्थल पछिल्लो समय फेरी भिडभाड बढेपछि कोरोना सङ्क्रमण हुन सक्ने जोखिम बढ्दै गएको छ ।

धरान १३ मा रहेको कृषि उपज बजार स्थलमा हरेक दिन बिहान सामाजिक दुरी समेत कायम नगरी मानिसको भिड बढेन भएकोले कोरोना सङ्क्रमणको जोखिम बढेको हो । धरान उपमहानगरपालिकाले लकडाउनको बेलामा धरान नगरबासीलाई सहजरुपमा तरकारीजन्य बस्तु उपलब्ध होस भनेर बिहान ४ बजे देखि ९ बजे सम्म कृषि उपज बजार स्थल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कृषि बजारमा भिडभाड नहोस् भनेर धरान उपमहानगरका २० वटा वडामा सम्बन्धित वडाहरूको सिफारिसमा तोकिएको र वडाबाट अनुमति पाएको पसलहरूले मात्रै तरकारी बिक्री गर्न पाउने र त्यहाँ पनि सामाजिक दुरी कायम गर्ने भनिएको थियो । अझ धरानमा एक दिन १० वडालाई र अर्को दिन १० वडालाई तरकारी वितरण गर्ने गरी निर्णय भएको थियो ।

Krishi-Bazar-3

यो भन्दा पछि कृषि बजारमा भिड नहोस् भनेर समय निर्धारण पनि गरिएको छ । जस अनुसार हरेक दिन बिहान ४ बजे देखि ५ः३० बजे सम्म ७ वटा वडालाई र ५ः३० बजे देखि ७ बजे सम्म अर्को ७ वटा वडालाई तरकारी वितरणको लागि समय छुट्टाइएको छ । तर अहिले त्यो निर्णय कार्यान्वयनमा आएको छैन । हरेक दिन बिहान कृषि उपज बजार स्थलमा निकै ठुलो भिड लाग्ने गरेको छ ।

यो भिडका कारण कृषि उपज बजार स्थल दिनानुदिन कोरोना सङ्क्रमणको जोखिम क्षेत्र बन्दै गएको स्वास्थ्यकर्मी प्रीतिबहादुर राईले बताए । उनी हरेक दिन बिहान ४ बजे देखि ८ बजे सम्म कृषि बजारमा आउनेहरूको ज्वरो नाप्ने कार्यमा खटने गर्दछन् । उनी भन्छन् कृषि बजारमा कोहीलाई कोरोना सङ्क्रमण भयो भने सबैलाई सर्न सक्छ ।

कृषि उपज बजार स्थललाई कृषि बजार सञ्चालक समितिले ब्याकस्थित गर्न नखोजेको होइन तर त्यहाँका व्यापारीहरूको अटेरीपनले कृषि उपज बजार स्थलमा समस्या आएको बताइएको छ ।

कृषि उपज बजार स्थल पुन सञ्चालन गर्नुपुर्व कृषि उपज बजार स्थलका व्यापारीले कृषि बजारमा भिड नहोस् भनेर कृषि बजारकै व्यापारीहरुले वडाले सिफारिस गरे अनुसार सम्बन्धित पसल सम्म तरकारीजन्य बस्तु ढुवानी गरिदिनुपर्ने र ढुवानी खर्च सम्बन्धित पसलले बेहोर्नुपर्ने भनिएको थियो । तर त्यसो हुन सकेन । यसले गर्दा पनि कृषि बजारमा भीड बढेको कृषि उपज बजार स्थल सञ्चालक समितिका अध्यक्ष परशुराम कटुवालले बताए । व्यवस्थापन पक्षबाट व्यवस्थापन राम्रो नै गरेको हो तर व्यापारी र उपभोक्ताहरूको अटेरीपनले समस्या आएको उनी बताउँछन् ।

पालिका तरकारी बजार खोल्न स्थानीयले दिएनन्
कृषि उपज बजारमा मात्रै तरकारी बजार खुल्ला भएको भन्दै भानु सब्जी मन्डीका पदाधिकारीले धरानको पालिका तरकारी बजार र भानुचौक नजिकैको नरेन्द्र पथमा पनि तरकारी पसल सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका थिए ।

Krishi-Bazar-2

त्यस पछि धरान उपमहानगरपालिकाले पालिका तरकारी बजारमा २० वटा पसल खोल्न अनुमति दिएको थियो । अनुमति दिएको पहिलो दिन तरकारी पसल सञ्चालन गर्नका लागि धरान ३ मा रहेको पालिका बजारमा डोरी समेत टाँगेर बजार व्यवस्थापन गर्ने भन्दा भन्दै स्थानीयवासीले तरकारी पसल सञ्चालन गर्न नदिएको बताइएको छ ।

तरकारी बजार खुल्ला भयो भने झन् कोरोनाको जोखिम बढेको भन्दै पालिका तरकारी बजारको अनुमति पाएका पसललाई सञ्चालन गर्न नदिइएको हो । यता धरानको भानुचौक नजिकैको नरेन्द्रपथमा पनि तरकारी पसल सञ्चालन गर्दा बढी भिड देखिएकोले स्थानीयले विरोध गरे पछि प्रहरीले पसल बन्द गर्न लगाएको छ ।