धरान : धरान उपमहानगरपालिका वडा नं. १४ का दलित महिला सदस्य मनीषा विक सहितलाई कुटपिट गरेको प्रति नेपाल दलित सङ्घ धरान उपमहानगर समितिले खेद प्रकट गरेको छ ।

नेपाल दलित सङ्घ धरान उपमहानगर समितिका अध्यक्ष गणेश परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार धरान १४ स्थित बम धारा मार्गमा रहेको हालै नामकरण भएको शिवजी चौकको विषयमा सामान्य छलफल भएको र उक्त सर्वदलीय छलफल पश्चात् हतियार सहितको समुहले नेपाल दलित सङ्घ धरान उपमहानगर समितिका सदस्य एवं धरान १४ नंम्वर वडाकी जन प्रतिनिधि वडा सदस्य मनीषा वि.क. लगायत उनका श्रीमान् तथा स्थानीय व्यक्ति माथि ज्यान मार्ने उद्देश्य तथा महिला हिंसा भएको हुनाले स्थानीय ४,५ जना व्यक्तिहरूले मरणासन्न हुने गरी कुटपिट गरिएको घटना प्रति सिङ्गो नेपाल दलित सङ्घको गम्भीर ध्यानाकर्षण र खेद प्रकट गर्दछ भनी उल्लेख गरिएको छ ।

सो घटनामा संलग्न दोषी उपर कडा भन्दा कडा कारबाहीको माग पनि विज्ञप्तिमा गरिएको छ ।

सो घटना विषयमा स्थानीय प्रशासन कसैको दबाब वा प्रभावमा नपरी सत्य, तथ्य र निष्पक्ष छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति सहित अविलम्ब न्यायको जोडदार माग पनि विज्ञप्तिमा गरिएको छ ।

Dalit-sang-press-release