धरान : मस्जिद, इदगाहलगायत धार्मिक स्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नभई आज मुसलमान समुदायले इद उल फित्र पर्व मनाउदैछन् ।

आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ । यसै कारण आज इद उल फित्र पर्व मनाउन लागिएको बताइएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण मस्जिदमा नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ ।

मस्जिद, इदगाहलगायत धार्मिक स्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलमानले घरमै परिवारका सदस्यबिच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि लकडाउनको नियम नतोडिने बताइएको छ ।