धरान : पूर्वमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ वर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् । सोमबार बिहान ७ बजेको समयमा तामाङ आफ्नै घरमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला पारेको हो ।

महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशङ्कामा प्रहरीले मृतककै श्रीमान् ५२ वर्षीय विष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानुनी प्रक्रियाका साथै अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी मोरङको कानेपोखरी गाउँपालिका ५ मा ट्रयाक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्रयाक्टरमा सवार रहेका स्थानीय २७ वर्षीय प्रवीण राई अचानक ट्रयाक्टरबाट लडेर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी मङ्गलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।