धरान : मोरङ र इलाममा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।

सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका ९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ११ का ३१ वर्षीय गोविन्द बजगाईँ घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यसै गरी सोमवार राती १० बजे मोरङकै केराबारी गाउँपालिका ९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाइकल बाटोमा ढली राखेको रुखको हाँगामा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय ३० वर्षीय विकास गुरुङलाई उपचारको लागी बिराटनर्सिङ होम विराटनगर लगिएकोमा उनको पनि उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै इलामको माङसेबुङ गाउँपालिका १ बस्ने कविराज बस्नेतको १२ वर्षीय छोरा सुवी बस्नेतको देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो १२ बजेको समयमा स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाइते भएका बालकलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इलाम पठाइएकोमा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।